२५ चैत, चितवन । भरतपुर महानगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ । महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका प्रध्यानाध्यापकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको रोहवरमा विद्यालयका प्रध्यानाध्यापक, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी र महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । सम्झौतापत्रमा हस्ताक्षरपछि शैक्षिक संस्थाको नेतृत्वका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्रीसमेत सार्वजनिक गरिएको थियो ।
सामग्री सार्वजनिकसँगै हरेक विद्यालयका प्रध्यानाध्यापकलाई पुस्तकसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले पछिल्ला समयमा विद्यालयमा हुने गरेका अपराध नियन्त्रणका लागि यो पाठ्यसामग्री तयार गरिएको बताए। उनले भने, “यो पुस्तक अपराध नियन्त्रणका लागि महत्वपूर्ण बन्ने छ ।” पछिल्ला दिनमा विद्यालयमा हुने गरेका यौन हिंसाका घटना र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विद्यालयका प्रध्यानाध्यापकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिएको उनको भनाइ थियो ।
सो अवसरमा महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले समाजमा हुने अपराध नियन्त्रणमा पाठ्यसामग्री बहुउपयोगी बन्ने बताए । सामाजमा हुने गरेका अपराध नियन्त्रणमा सहयोगी पुस्तक पाठ्यसामग्री विद्यालयमा पु¥याउनु महत्वपूर्ण काम भएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी तामाङले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्न विद्यालयलाई आग्रह गरे । विद्यालयमा हुने अपराध र विद्यार्थीलाई प्रयोग गरेर गरिने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि यो पाठ्यसामग्री महत्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख अधिकारीले बताए । अहिले ठूलो सङ्ख्यामा बालबालिका लागुऔषधको प्रयोगकर्ताका रूपमा रहेको भन्दै उनले यसलाई रोक्नका लागि प्रहरी–विद्यालय सम्पर्क समिति गठन गर्नसमेत अनुरोध गरे ।