स्वास्थ्य

मन्त्री खतिवडाबाट टाइफाइड खोप सुरु


२६ चैत, हेटौँडा । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरि तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिएका छन । आज मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ५ स्थित भोजशिद्ध माविमा खोप अभियान सुरु गर्दै उनले खोप पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन आग्रह गरे ।

आजदेखि प्रारम्भ भएको अभियान देशैभर वैशाख १८ गतेसम्म सञ्चालन हुने बताउँदै मन्त्री खतिवडाले यस अवधिमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकामा खोप सेवा प्रवाह गरिने जानकारी दिए । खोपका लागि देशैभर करिब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयंसेवकको व्यवस्था गरिएको छ भन्दै उनले खोप अभियानबाट मकवानपुरका मात्रै एक लाख आठ हजार बालबालिका लाभान्वित हुने उल्लेख गरे । विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको र बाँकी सामुदायिक स्वास्थ्य कार्यालयबाट लगाइने बताइएको छ ।