राजनीति

कमल थापाको निर्बाचन जिल्ला हेटौँडामा राप्रपाको आमसभाः अध्यक्ष लिङ्देन भन्छन् राप्रपाप्रति देशभर जनताको बिश्वास बढ्दैछ

२७ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजनामा आज हेटौँडाको हुप्राचौरमा आमसभा सम्पन्न भएको छ । यसअघि नगरको विभिन्न भागबाट बाजागाजासहित जुलुस तथा मोटरसाइकल ¥याली हुप्राचौर पुगी आमसभामा परिणत भएको थियो ।

सो अवसरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामान्य आँखाले हेर्दा देशलाई केही भएको नदेखिएको तर देशको आर्थिक अवस्था कमजोर हुँदै गएको बताए । उनले भने, “विदेशी मुद्रा सञ्चय कम भएको छ, आयात वृद्धि भएर गएको छ, निर्यात कमजोर छ, बैंकमा लगानीयोग्य रकम जम्मा छैन, नेपाल पनि श्रीलङ्काको बाटोमा जान्छ कि भन्ने चिन्ता लागेको छ ।” 

उनले राप्रपालाई असफल हुने छुट नभएको भन्दै देशभर राप्रपाप्रति नेपाली जनताको बिश्वास भढेको सत्य भएको दाबी गरेका छन् । लिँदेनले आज सम्बोधन गरेको उक्त स्थान राप्रपा अध्यक्ष कमल थापाको निर्बाचन क्षत्र जिल्ला हो ।
उनले नेपालको विकास सहीरूपमा गर्न एक मात्र विकल्प राप्रपा पार्टी भएको भन्दै आगामी स्थानीय तह, प्रदेश र संसद्को चुनावमा राप्रपा पार्टीलाई भोट दिन आग्रह गरे । राप्रपाका महामन्त्रीद्वय राजेन्द्र गुरुङ तथा भुवन पाठकले अब देशको विकास गणतन्त्र र सङ्घीयताबाट सम्भव नभएको बताए । यसैगरी राप्रपा नेत्री एवं केन्द्रीय सदस्य रेखा थापाले देशको राष्ट्रियता, स्वाधीनता, मौलिकता बचाउन र युवा एवं महिलाको सुनिश्चित भविष्यका लागि राप्रपा उपयुक्त पार्टी भएको बताए।