४ वैशाख, सिन्धुपाल्चोक । सामाजिक कार्यमा सक्रिय हिमालयन फाउन्डेशन कर्प न्युयोर्क एन्ड क्यालिफोर्नियाले हेलम्बुका बाढीपीडितका लागि निर्माण गरिएको अस्थायी घर आज हस्तान्तरण गरिएको छ ।
हिमालयन फाउन्डेशनले हेलम्बुका बाढीपीडितका लागि १० घर निर्माण गरिरहेको छ । निर्माण सम्पन्नमध्ये आज हेलम्बु गाउँपालिका–३ पाल्चोकको रामबहादुर भारतीलाई भवन हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नेपाली मूलका अमेरिकाको मेरिल्यान्ड राज्य विधायिका ह्यारी भण्डारी, फाउन्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठलगायत उपस्थित थिए ।
गत कात्तिकमा हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउन्डेशनका संस्थापक श्रेष्ठबीच घर निर्माण गरिदिने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । प्रतिघर रु चार लाख खर्च भएकोे जनाइएको छ ।
“अमेरिकामा बसे पनि आफ्नो गाउँघर सम्झिएर बाढीपीडितलाई सहयोग गरेकामा खुसी लाग्यो”, कार्यक्रममा भण्डारीले भने, “जो जहाँ रहे पनि एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नु निकै राम्रो कुरा हो ।”
आफू सोही ठाउँमा जन्मे हुर्किएकाले सिन्धुपाल्चोकमा केही घटना हुँदा निकै मन पोल्ने गरेको फाउन्डेशनका संस्थापक श्रेष्ठले बताए । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका थुप्रै वडामा ठूलो जनधनको क्षति भएको थियो ।