गण्डकी प्रदेश

कार्य प्रगति विवरण सार्वजनिक

५ वैशाख, दमौली । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले पाँच वर्षमा भएका कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन । उनले आइतबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेका छन ।

संविधानको निर्माणपछि राज्य पुनःसंरचना भई नगरपालिकाको भूगोल बढ्न गई गाउँ र सहरको विविधताबीच नगरपालिकाको विकास प्रक्रिया अगाडि बढाउन चुनौतीपूर्ण रहे पनि सबैको सहयोगमा विभिन्न महत्वपूर्ण कार्य भएको उनले दाबी गरे । नगरप्रमुख न्यौपानेले विगत निर्वाचनमा गरिएका अधिकांश प्रतिबद्धता पूरा भएको दाबी गरे ।

एकीकृत सहरी विकास योजना निर्माण गरी विविधतायुक्त गाउँ सहर, समृद्ध मेरो व्यास नगर मूल नारा तय भएको, कृषि, पर्यटन र शिक्षालाई अग्रणी क्षेत्रमा राखी कार्य गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

खानेपानीलाई प्राथमिकतामा राखी देवीडाँडा खानेपानी, कमरेसाँध खानेपानी, क्यामिन छापथोक खानेपानी, केशवटार रुम्सी ठिन नयाँगाउँ खानेपानीलगायतका योजनामार्फत एक घर एक धाराका योजना सञ्चालन, खड्गकाली मार्ग, छाब्दीमार्ग, कालिका मार्ग, केशवटार मार्ग, पराशर मार्ग, माहेन्द्री मार्ग, क्यामिन छापथोक मार्ग, मानुङकोट मार्ग, सिन्धु मार्ग, वडा पहुँच मार्गलगायत विभिन्न वडामा कालोपत्र योजना सम्पन्न भएको विवरणमा उल्लेख गरिएको छ ।

दमौली विपी वनबाटिकालगायत विभिन्न वडामा खेलमैदान निर्माण, दमौली पार्क, बजारभित्रका अनशन चौतारीलगायतका चोक सुधार, सडक बत्ती व्यवस्थापन, घाट निर्माण गरिएको नगरप्रमुख न्यौपानेले उल्लेख गरे ।

स्वास्थ्य क्षेत्रमा वडा नम्बर १, २, ४, ५, ७, १० मा आधारभूत स्वास्थ्य भवन र वडा नम्बर १३ मा सहरी स्वास्थ्य भवन निर्माण, वडा नम्बर ६ र १२ मा नयाँ भवन निर्माणाधीन, पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन, २५ शय्याको अस्पताल भवन निर्माणाधीन, शिशाघाट बर्लाचीमा नयाँ स्वास्थ्य केन्द्र विस्तारलगायतलाई नगरप्रमुख न्यौपानेले महत्वपूर्ण कामको सूचीमा उल्लेख गरेका छन ।

नगरप्रमुख न्यौपानेले केही अधुरा काम गर्न बाँकी रहेको पत्रकार सम्मेलनमा बताए । नारेश्वरताल, १०८ फिट व्यासमूर्ति निर्माण, व्यास झुला निर्माण, बहुउद्देश्यीय भवन, भादगाउँ खानेपानी, कमेरेसाँध खानेपानी, देवीडाँडा खानेपानी, शीतभण्डार, विपी वनबाटिका खेलमैदान, मानुङकोट, गलेखामकोट, तनहुँसुर, पुलिमराङलगायतका पर्यटकीय क्षेत्रको विकास योजना लागत साझेदारीमा अगाडि बढाउने काम बाँकी रहेको उनले उल्लेख गरे ।

नगरप्रमुख न्यौपानेले अधुरा रहेका योजना पूरा गर्न पुनः नगरप्रमुख बन्ने इच्छा व्यक्त गरेका छन । अधुरा रहेका योजना पूरा गर्न, आफ्नो अनुभव र क्षमताको प्रयोग गर्न पुनः नगरप्रमुखको इच्छा व्यक्त गरेका छन ।

पाँच वर्षको अवधिमा नगरवासीको शिर निहु¥याउने कुनै काम नगरेको भन्दै उनले भने, “हाम्रो कामको मूल्याङ्कन र समीक्षा गर्ने दायित्व नगरवासी, राजनीतिक दल, नेपाली कांग्रेसका नेतृत्व गणमा छ ।”

“नयाँ आउने मान्छेलाई बुझ्नै समय लाग्छ, हामीले धेरै अनुभव प्राप्त गरिसकेका छौँ, त्यही अनुभवलाई फेरि प्रयोग गर्ने चाहना हो,” उनले भने । उनले पार्टीले टिकट नदिएको खण्डमा पनि पार्टीलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले निष्ठापूर्वक १८ घण्टा काम गरेकाले जनताले मूल्याङ्कन गर्नेमा विश्वस्त रहेको बताए ।