गण्डकी प्रदेश

व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम सम्पन्न


६ वैशाख, गण्डकी । पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन विषयक एक दिवसीय प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रा डा चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिएका थिए ।

पोखरा विश्वविद्यालयका उपकुलति एवं रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्रा डा प्रेमनारायण अर्यालले मान्छेको प्राण, कमाएको धन, सम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको उल्लेख गर्दै उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडी सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिए।

विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेष र घृणा छाड्नुपर्ने उल्लेख गर्दै उनले विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने र एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारीले कम्प्युटरमा हार्डवेयर र सफ्टवेयर भएजस्तै मान्छेको शरीररूपी हार्डवेयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ–नयाँ सिर्जनात्मक एवं सकारात्मक सोचहरूले मस्तिष्कलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिए। विश्वविद्यालयमा सकारात्मक सोचको विकासका लागि यस किसिमका कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

प्रशिक्षक डा चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धन सम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकाले उसले आफैँले आफूलाई चिन्न नसकेको तर्क राखे । उनले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुःखी र चिन्तित रहने गरेको उल्लेख गरे । डा योगीले पोखरा विश्वविद्यालय शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण धरोहर भएकाले यसको प्रतिष्ठा अभिवृद्धि, सहयोग र सहकार्यका लागि आफू सधैँ लागिपर्ने बताए ।

अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनावै तनावमा जीउने गरेको उल्लेख गर्दै दीर्घजीवनका लागि मानिसले तनावलाई व्यवस्थापन गर्नु अपरिहार्य रहेको उल्लेख गरे । उनले योगा, भोजन शुद्धि, वाणी शुद्धि, परिवेश शुद्धि र सोचको सही प्रयोगले तनाव व्यवस्थापन गर्ने बताए । उनले लफिङ थेरापी, मेडिटेशन र विभिन्न योगा विधिका बारेमा अभ्यास प्रदान गरेका थिए ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवं कार्यक्रम संयोजक दीपकराज पौडेल, डा अर्जुनकुमार थापालगायतले जिम्मेवारीबाट पन्छिदैमा तनाव कम नहुने र जिम्मेवारी निर्वाह गर्नु पनि तनाव व्यवस्थापनको एक पाटो भएको बताए । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीलगायत लगभग २०० जनाको उपस्थिति थियो ।