७ वैशाख, गलेश्वर । सत्तारुढ गठबन्धनले आफूले जितेको ठाउँ सुरक्षित गर्न र अरु दलले जितेको पालिकाको नेतृत्व हत्याउने प्रयासमा छन् । सत्तारुढ गठबन्धनले आन्तरिक कलह मिलाउन भने सकिरहेका छैनन् । केन्द्र र प्रदेशबाट गठबन्धनबीच तालमेल गरेर चुनावमा जाने निर्णय भए पनि स्थानीय तहमा दलहरूका आ–आफ्नै दाबी र अडान छन् । फलस्वरुप गठबन्धन दललाई स्थानीय तहको भागबण्डा टुङ्गो लगाउन सकस भइरहेको छ ।
चुनावमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलहरूका बीच म्याग्दीमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आआफ्नो पार्टीबाट उम्मेदवार छनोट गरेर चुनावी अभियानसमेत सुरु गरिसकेका छन् । निर्वाचन आउन अब २३ दिन मात्र बाँकी रहँदा स्थानीय तह बाँडफाँटमा सहमति जुट्न नसकेपछि सत्ता साझेदार दलहरूका नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू तीन पटक बैठक बसेर छलफल गर्दा पनि कुन स्थानीय तहमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।
सत्ता गठबन्धनमा आबद्ध मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डामा कुरा नमिलेपछि नेताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्न थालेका छन् । पटक पटक बैठक बसेपनि उनीहरू निष्कर्षमा पुग्न सकेका छैनन् । बैठक निष्कर्षविहीन भएपछि दलहरूले चुनावको आ–आफ्नो तयारी थालेका छन् भने सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गरेर नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले कांग्रेसलाई दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशम जुग्जालीले एमाले हराएर कांग्रेसलाई ठूलो बनाउन माओवादी सहयोगी नहुने चेतावनी सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन। गठबन्धनमा आबद्ध जिल्लाका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, सङ्घीय समाजवादी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । नेपाली कांग्रेसले मालिका गाउँपालिका माओवादीलाई छाड्न नमानेपछि गठबन्धनमा सङ्कट पैदा भएको एक नेताले बताए । कांग्रेसले जितेको पालिका माओवादीलाई कुनै पनि हालतमा छाड्न नसकिने अडान कांग्रेसले लिएको छ ।
माओवादीका जिल्ला संयोजक नै उम्मेदवारका रुपमा अगाडि बढेकाले आफ्नो दलले जसरी पनि मालिका पाउनुपर्ने अडानमा माओवादी छ । कांग्रेसले भने माओवादीलाई मङ्गला र धौलागिरि गाउँपालिका दिन तयार भएको बताइएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि जिल्लामा एक स्थानीय तहको प्रमुखका लागि माग गरेको छ ।
गठबन्धन दलमा कुरा नमिलेपछि नेपाली कांग्रेसले बेनी नगरपालिकामा चिरञ्जीवी पौडेललाई प्रमुख पदको उम्मेदवार बनाएर चुनावी अभियान सुरु गरेको छ भने मालिका गाउँपालिकामा वर्तमान अध्यक्ष श्रीप्रसाद रोकालाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । त्यसैगरी मङ्गला गाउँपालिकामा वीरेन्द्र बूढाथोकीलाई अध्यक्षको उम्मेदवार बनाएर चुनाव प्रचारप्रसारमा लागेको छ । धवंलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा भने अध्यक्षको उम्मेदवार कांग्रेसले अझसम्म पनि छनोट गर्न सकेको छैन ।