प्रदेश 2

एमाले छाडि जसपामै फर्के वडा सदस्य अन्सारी

७ बैशाख, वीरगञ्ज । केही दिन अगाडि जसपा त्यागेर नेकपा एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिका वडा न. २ का निर्वाचित वडा सदस्य मुस्तफा अन्सारी पुनस् जसपामै फर्केका छन् ।

अन्सारीले आज पुनस् जसपामा प्रवेश गरेका हुन् । उनलाई सङ्घीय सांसद् प्रदीप यादवले फुलमाला लगाएर पुन: पार्टीमा फिर्ता ल्याएका छन् ।

जसपाको नेतृवसँग रुष्ट भएर एमाले प्रवेश गरेका अन्सारीसँग जसपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद् यादवले भेटघाट गरेर असन्तुष्टिहरु सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनि पुनस् जसपामा फर्केको बुझिएको छ ।

उनलाई प्रवेश गराउँदै सांसद् यादव अन्सारीको वापसीसँगै जसपामा उर्जा थपिएको बताए ।  ‘उनी जस्ता युवाहरु पार्टीको उर्जा हुन । मुस्तुफाजी गएदेखि पार्टी अलि खल्लो जस्तो भएको थियो,’ यादवले भने, ‘फिर्ता आएपछि पार्टीमा रौनक बढेको छ । ‘

यादवले जनतालाई एमालेले धेरै दिनसम्म भ्रमित पारेर राख्न नसक्ने बताए । मधेश आन्दोलन चलिरहँदा जनताको टाउको र छातीमा गोली चलाउने एमाले आज मधेशवादको खोल ओढेर यहाँको जनतालाई झुक्याउन खोजिरहेको उनले आरोपसमेत लगाएका छन ।

अन्सारीको वापसीसँगै वडा नम्बर २ मा जसपा फेरी बलियो बनेको छ । वडाक मतदाताहरुको उनको राम्रो पकड छ ।