८ वैशाख, दमौली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३७६ जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले १० वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गर्न लागेको छ ।
मतदान केन्द्रमा जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लामा वैशाख २७ गतेभित्र मतदान अधिकृत, सहायक मतदान अधिकृत नियुक्त गरेर मतदानस्थलमा खटाइसक्ने तयारी गरिएको छ ।
निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन् ।
आँबुखैरेनी गाउँपालिकामा कूल १३६, ऋषिङ गाउँपालिकामा २००, घिरिङ गाउँपालिकामा १३६, देवघाट गाउँपालिकामा ११९, बन्दीपुर गाउँपालिकामा १६८, भानु नगरपालिकामा ३९२, भिमाद नगरपालिकामा २४८, म्याग्दे गाउँपालिकामा १६०, व्यास नगरपालिकामा ४४७ र शुक्लागण्डकी नगरपालिकामा १८९ जनशक्ति परिचालन गरिनेछ । तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।
निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा २९७ मतदान केन्द्र कायम गरिएको छ । करिब एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको ढकालले जानकारी दिए । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ र सबैभन्दा कम देवघाट गाउँपालिकामा १५ मतदान केन्द्र कायम गरिएको छ । यसैगरी आँबुखैरेनी गाउँपालिकामा १७, ऋषिङ गाउँपालिकामा २५, घिरिङ गाउँपलिकामा १७, बन्दीपुर गाउँपालिकामा २१, भानु नगरपालिकामा ४९, भिमाद नगरपालिकामा ३१, म्याग्दे गाउँपालिकामा २० र शुक्लागण्डकी नगरपालिकामा ४६ मतदान केन्द्र कायम भएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकै आएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता छ । निर्वाचन नजिकिँदै जाँदा तनहुँका मतदाता सक्षम उम्मेदवारको खोजीमा छन् ।
म्याग्दे गाउँपालिका–१ का अनिल अधिकारीले निर्वाचनमा सक्षम र विकासको भावना भएको उम्मेदवारलाई जिताउनुपर्ने धारणा राखे । “पार्टीमा देखिएको टिकटको होडबाजीले समाजसेवा भन्दा कमाउधन्दाका लागि उम्मेदवारी दिनेको होडबाजी छ,” उनले भने, “मतदाताले को सक्षम छ त्यसको मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ ।
म्याग्दे गाउँपालिका–२ का युवा रमेश क्षेत्रीले जुन दलको भए पनि सक्षम र उदार मन भएका व्यक्तिलाई निर्वाचनमा जिताउनुपर्ने धारणा राखे । “दलगत भन्दा पनि सवल व्यक्ति छनोट गर्नुपर्छ, त्यसका लागि निर्वाचन उपयुक्त माध्यम हो,” उनले भने । घिरिङ गाउँपालिका–१ पुट्टारका दीपक भट्टराईले हाम्रो भन्दा राम्रो उम्मेदवारको खोजीमा जनता रहेको बताए । “अहिले चाहिएको भनेको विकास हो, जनतालाई राजनीति चाहिएको छैन, विकास चाहिएको छ, जसले विकास गर्ने सङ्कल्प बोकेको छ मत उसैलाई मत दिने हो,” उनले भने ।
तनहुँका राजनीतिक दललाई यतिबेला उम्मेदवार छनोटको चटारो छ । उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा यहाँका राजनीतिक दलले उम्मेदवार सिफारिस गर्न थालेका छन् । राजनीतिक दलले सम्बन्धित पालिकाबाट आकाङ्क्षीको नाम सङ्कलन गरी माथिल्लो कमिटीमा उम्मेदवार सिफारिस गर्न थालेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, (नेकपा माओवादी) केन्द्र, राप्रपा लगायतका दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् ।
नेकपा एमालेले सम्बन्धित पालिकामा आकाङ्क्षीको नामावली सङ्कलन गरी मतदानबाट उम्मेदवार टुङ्गो लगाएर माथिल्लो कमिटीमा नामावली सिफारिस गर्ने गरेको नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। सम्बन्धित पालिकाबाट सिफारिस भई आउने उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाइने र गाउँपालिका/नगरपालिकाको प्रमुख/अध्यक्षको टुङ्गो प्रदेश कमिटीले लगाउने श्रेष्ठले बताए ।
नेकपा माओवादी केन्द्रले भने केही पालिकामा सर्वसम्मत उम्मेदवार छनोट गरिसकेको छ । राप्रपाले पनि सर्वसम्मत उम्मेदवार छनोट गरेको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले बताए ।