८ वैशाख, भजनी । कैलाली टीकापुर नगरपालिका–१ एकतापुर शिविरका सोमलाल चौधरी अहिले निकै सचेत देखिएका छन । विगतका वर्षमा स्थानीय अगुवाको पछाडि लागेर मतदान गरेका सोमलाल यो वर्ष भने त्यो गल्ती गर्ने पक्षमा छैनन ।
“विगतका निर्वाचनमा समुदायको अगुवाले जहाँ भन्यो त्यहीँ भोट हाल्यौं । एक जनाको पछाडि सिङ्गो समुदाय लाग्यो । भोट हालेर चुनाव त जितायौँ तर चुनाव जितेका र भोट हाल्न निर्देशन दिएका अगुवाले समेत हामीलाई बिर्से”, उनले भने, “यो पटक त्यस्तो गल्ती गर्ने पक्षमा हामी छैनौँ । वर्षौदेखिको हामी सुकुम्वासीको समस्या समाधान गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई भोट दिन्छौँ ।”
वि.सं २०६४ देखि एकतापुर शिविरमै बस्दै आएकी सुमित्रा विश्वकर्माले विगतका निर्वाचनमा कैयौँ राजनीतिक दलहरूले चुनावमा जित्यो भने सुकुम्वासीको समस्या समाधान गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको बताउँदै प्रतिबद्धताको कागज आज पनि आफूहरुसँग सुरक्षित भए पनि चुनाव जितेकाले फर्केर शिविरमा नआएको बताए ।
“वर्षौदेखि हामीहरु आधारभूत आवश्यकताबाटसमेत वञ्चित हुँदै आएका छौँ । हाम्रो बस्तीमा बिजुली छैन, सडक छैन, खानेपानी छैन, शिक्षाका लागि विद्यालय छैन । यस्ता कैयौँ आवश्यकताको पर्खाइमा हामी छौँ”, उनले भने, “यी आवश्यकता पूरा गर्छौं भनेर हामीसँग प्रतिबद्धता गरेर गएकाहरु आज फेरि बस्तीमा आइसकेका छन् । तर, हाम्रा आवश्यकता पूरा गरेर होइन, भोट माग्नको लागि आएका छन् ।”
उनले यसपटक भने आश्वासन दिने भन्दा सम्भावना बोकेको नयाँ व्यक्तिलाई भोट दिने उल्लेख गर्दै हिजोको जस्तो नागरिक अरुको लहैलहैमा लागेर होइन, स्थानीय आवश्यकता र नागरिकको अधिकारलाई सुरक्षित राख्न सक्ने उम्मेदवारलाई भोट दिने बताए ।
टीकापुर नगरपालिका–३ का आशिष जनाला पनि पार्टी भन्दा व्यक्तिको पर्खाइमा रहेको बताए । राजनीतिक आस्था जुनसुकै पार्टीमा भए पनि यसपटक पार्टी भन्दा माथि उठेर सक्षम व्यक्तिलाई मौका दिनुपर्ने पक्षमा आफू रहेको उनले बताए । “म पनि कुनै राजनीतिक दलसँग आवद्ध छौँ । आस्थाले समुन्नत समाजको निर्माण नहुने रहेछ”, उनले भने, “समुन्नत समाजका लागि भिजन भएको व्यक्तिलाई पालिकाको नेतृत्वमा ल्याउनुपर्छ ।” मैले अरुलाई दिने सुझाव पनि त्यहीँ हो । अहिले पार्टी नहेरौँ व्यक्ति हेरौँ, उनले भने ।
भजनी नगरपालिका–६ कि दिव्या चौधरी दुई वर्षदेखि महुन्याल सामुदायिक वनको जग्गामा त्रिपाल हालेर बस्दै आएका छन । दिव्या मात्रै होइन, बाढीबाट विस्थापित भएका धेरैले सामुदायिक वनको जग्गा अतिक्रमण गरि बसेका छन् । दुई वर्ष वितिसक्दा पनि उपयुक्त व्यवस्थापन हुन नसक्दा उनीहरु आक्रोशित छन् । “सुकुम्वासी समस्या समाधान वा व्यवस्थापन जसले गर्छ, त्यही उम्मेदवारलाई हामीले भोट दिन्छौं”, उनले भने, “हामीले अहिले पहिला काम त्यसपछि भोट अभियान नै चलाएका छौँ ।” आश्वासनले हामीलाई केही दिन सकेन । हाम्रा पीडाको सम्बोधन कतैबाट पनि भएन, त्यसैले हाम्रो काम गर्ने उम्मेदवारलाई नै भोट दिइने उनको भनाइ छ । “अब पार्टी नभएर कुनै सक्षम व्यक्तिलाई चयन गर्न सक्यो भने माग पूरा हुन्छ कि भन्ने आशा अझै बाँकी छ”, उनले भने ।
भजनी नगरपालिका–५ का सूर्यबहादुर साउद पनि महुल्याल सामुदायिक वनको जग्गामा बस्दै आएका छन । कान्द्रा नदीको बाढीबाट विस्थापित भएका सूर्यबहादुरको आशा सरकारले व्यवस्थापन गर्ला भन्ने थियो । त्यो आशा उनको पूरा हुनसकेन । निर्वाचनको समयमा नदीमा तटबन्ध गर्ने एजेन्डालाई विशेष महत्व दिएका उम्मेदवारले निर्वाचन जितेर कार्यकाल पूरा गरे पनि ती एजेन्डा पूरा गर्न नसकेको उनले भने ।
“घरघर आए भोट मागे । यो गर्छु त्यो गर्छु भने, चुनाव जिते सरकार चलाए । पाँच वर्षसम्म भोट दिएर जिताएका जनतालाई कुनै नेताले सम्झिएनन् । हाम्रो समस्या बुझ्न कोही आएन”, साउदले भने, “अब हामी पनि सचेत भइसकेका छौँ । कसले काम गर्नसक्छ कसले सक्दैन, त्यो छुट्याउन सक्ने क्षमता हामीमा पनि छ । त्यसैअनुसार हामीले पार्टी भन्दा पनि व्यक्तिलाई भोट हाल्छौँ ।”
भजनी नगरपालिका–५ दुदुवाफाँटाका लोकेन्द्र साउदको पीडा पनि त्यस्तै छ । उनीसँग पाँच बिघा जग्गाको लालपूर्जा छ । त्योमध्ये उनीसँग अहिले दुई बिघा जग्गा छ । मोहना नदीको कटानले उनको दुई बिघा जग्गा नदीमा परिणत भइसकको छ । “अहिले सरकारले सुकुम्वासीलाई जग्गा उपलब्ध गराउँदै आएको छ । सुकुम्वासी हौँ भनौँ भने जग्गा छ । होइनौँ भने सबैभन्दा बढी सुकुम्वासी हामी भएका छौँ । यसमा राज्यले केही गर्न सकेन”, उनले भने, “अब हामी त्यो आश्वासन दिने व्यक्तिको पक्षमा छैनौँ । हाम्रो मुद्दालाई महसुस गरेको व्यक्तिलाई अबको निर्वाचनमा हाम्रो साथ र समर्थन रहने छ ।”