बाग्मती

निर्वाचन अधिकृतको कार्यालय स्थापना

८ वैशाख, मकवानपुर । स्थानीय तह निर्वाचनका लागि आज हेटौँडा उपमहानगरपालिका–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको छ ।

जिल्लाको दशवटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिसकेको समेत उक्त कार्यालयले उल्लेख गरेको छ ।
हरेक जिल्लामा एक मुख्य निर्वाचन अधिकृत हुने व्यवस्था मिलाइएको छ । कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्न भनिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी)सहित नौ कर्मचारी रहनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ कर्मचारी रहने जनाइएको छ ।