९ वैशाख, मनाङ । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा जिल्लाको चामे गाउँपालिका जिल्ला अदालत मनाङको मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लामा अन्य तीन वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन गराउनका लागि कार्यालय प्रतिबद्ध रहेको बताएका छन ।
उनले भने, “हामीसँगै सबैले आआफ्नो क्षेत्रबाट निर्वाचनमा सहयोग गर्न जरुरी छ । सबैको सहयोगको अपेक्षा गरेका छौँ”, जिल्लाका अन्य तीनवटै पालिकामा पनि बिहीबारै निर्वाचन कार्यालय स्थापना गरिएको उनले बताए। शान्त र भयरहित तरिकाले निर्वाचन गराउनका लागि प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।
निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुनेगरी जिल्लामा सुरक्षा योजना बनाएको उनले बताएका छन । निर्वाचन आयोगले जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । आयोगले नासों गाउँपालिकाका लागि जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडू, नार्पाभूमि गाउँपालिकाका लागि सरकारी वकिल कार्यालयका दिनेशकुमार रेग्मी र ङिस्याङ गाउँपालिकाका लागि सरकारी वकिल कार्यालयका केदारनाथ उपाध्यायलाई निर्वाचन अधिकृत तोकेको छ ।
जिल्लाको चारवटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृत कार्यालयमा आवश्यक सुरक्षार्थका निकायहरु खटाइसकेको छ । निर्वाचनका लागि जिल्लामा २०० कर्मचारी खटाइनेछ ।
जिल्लामा २८ वटा मतदानस्थललाई नै केन्द्र निर्धारण गरिएको छ । जिल्लामा कूल छ हजार ४९६ मतदाता छन् । ती मतदातामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको चार स्थानीय तहमध्ये नार्पाभूमि गाउँपालिकामा महिला २५०, पुरुष १९८ जना गरी कूल ४४८ मतदाता रहेका छन् । चामे गाउँपालिकामा महिला ३६८, पुरुष ३४३ जना गरी कूल ७११ जना, नाँसो गाउँपालिकामा महिला ९४५, पुरुष ८५७ जना गरी कूल एक हजार ८०२ जना रहेका छन् ।
यस्तै मनाङ ङिस्याङ गाउँपालिकामा महिला एक हजार ७८५, पुरुष एक हजार ७५० जना गरी तीन हजार ५३५ मतदाता सङ्ख्या रहेका छन् । मनाङ देशभरको सबैभन्दा कम मतदाता रहेको जिल्ला हो । विकट र थोरै जनसङ्ख्या रहेको जिल्ला हो ।
नेपाली कांग्रेस मनाङले पाँच दलीय गठबन्धनको निर्णयानुसार मनाङ जिल्लामा गठबन्धन गरेर जाने निर्णय गरेको छ । काठमाडौँमा बसेको कांग्रेस र माओवादी केन्द्रका नेताको बैठकमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको मनाङ कांग्रेसका सभापति शङ्कर गुरुङले जानकारी दिए । जिल्लामा चार वटा गाउँपालिका छन् । एउटा प्रतिनिधिसभा र दुई प्रदेशसभा छन् ।
कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले मनाङमा गठबन्धनका दल मिलेर जाने भएपछि कुनै समस्या नरहेको बताएका छन । गठन्धन गर्ने विषयमा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले पनि सहमति जनाएका छन् । कांग्रेस र माओवादीले नेकपा (एकीकृत समाजवादी)लाई पनि सँगै लैजाने सहमति गरेका छन् ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लामा छ वटा मान्यता प्राप्त दलबाहेक थप पाँच वटा दल दर्ता भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा समाजवादी पार्टी, सामाजिक एकता पार्टी र उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएका हुन् ।
जिल्लामा छिमेकी जिल्ला लमजुङबाट म्यादी प्रहरी ल्याइएको छ । यहाँ मागभन्दा कम सङ्ख्यामा म्यादी प्रहरीमा भर्ना भएपछि छिमेकी जिल्ला लमजुङबाट ८३ म्यादी प्रहरी ल्याइएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए ।
उनका अनुसार यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २५८ म्यादी प्रहरी आवश्यक थियो । तर यहाँ १४२ जनाको मात्रै भर्ना भएका पछि लमजुङबाट ८३ जना म्यादी प्रहरी ल्याएको हो । जिल्लामा चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका थिए ।
यहाँ माग सङ्ख्याभन्दा कमको आवेदन परेपछि विगतको निर्वाचनमा पनि छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था रहँदै आएको छ ।