सुदूरपश्चिम

शान्तिपूर्ण वातावरणमा उम्मेदवारी दर्ता जारी

११ वैशाख, सुदुरपश्चिम । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज कैलालीमा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले मध्याह्नसम्म जिल्लाका १३ वटै पालिकामा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको जानकारी दिए ।

विभिन्न दलका उम्मेदवार बाजागाजा, नाचगानसहित जुलुस प्रदर्शन गर्दै उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा पुगेका थिए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी)सहितका दलले भने सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने जनाएका छन् ।

दलहरुले सबै तहमा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा उम्मेदवारीको मनोनयन दर्तामा ढिलाइ भएको जनाइएको छ । धनगढी उपमहानगरको प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारीमा रहका नेता रणबहादुर चन्दले आफूहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने बताए ।

उपमहानगरपालिकाका सबै पदमा कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीले लगभग टुङ्गो लगाइसकेको चन्दले बताए । नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले गठबन्धन दलबीच सबै तहमा साझा उम्मेदवार बनाउनेबारे भइरहेको छलफलमा सहमति जुटाउन समय लागेकाले उम्मेदवारी दर्तामा ढिलाइ भएको बताए ।

उनले भने ‘‘छलफल जारी भए पनि पालिकाको पदमा सहमति जुटाउन समस्या भइरहेको छ, साँझसम्म सहमति जुटाउने प्रयास भइरहेको छ ।’’