लुम्बिनी

बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच सहकार्य


१५ वैशाख, लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच आपसी सहकार्य सम्झौता भएको छ । सहमतिपत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न बज्राचार्य र प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले हस्ताक्षर गरेकम छन् ।
दुई संस्थाबीच पाँच वर्षका लागि भएको सहमतिपत्रमा स्थलगत अनुसन्धान कार्यक्रम, संरक्षण र विकाससँग सम्बन्धित परम्परागत ज्ञान र प्रविधिको प्रवद्र्धन, सामुदायिक हितका लागि पर्यापर्यटनमा सहकार्य गर्ने उल्लेख छ । उक्त विश्वविद्यालयले देवदहस्थित वन क्षेत्रमा स्थानीयलाई आयआर्जन हुने गरी पर्यावरणीय क्षेत्रमा कार्य गर्नका लागि सहकार्य भएको जनाएको छ । विश्वविद्यालयले बुद्ध मावली सामुदायिक वन क्षेत्रको करिब ९२ विघा जमिन सरकारको निर्णयबाट प्राप्त गरेको छ ।
सो जङ्गल क्षेत्रमा तपोवन निर्माण गरी अध्ययन, अनुसन्धान र आयमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बज्राचार्यले बताए। उनले भने, “बौद्ध संस्कृतिमा रहेर तपोवन निर्माण गर्ने योजना रहेको छ ।” उनका अनुसार यो तपोवन विद्यार्थीका लागि अनुसन्धान र आयआर्जन गर्ने स्थानका रूपमा रही नमूना वन क्षेत्र बन्नेछ ।
विश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्यले छ वर्ष लामो मेहेनतले देवदहमा जङ्गलसहितको जमिन प्राप्त गरेको स्मरण गर्दै त्यसलाई बहुउपयोग गर्ने योजना बनाइएको बताए। विश्वविद्यालयले देवदहमा हाल कृषि विज्ञान र विकास अध्ययन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा संरक्षण कोषका सदस्यसचिव अधिकारीले विश्वविद्यालयसँग सहकार्य गरी अध्ययन, अनुसन्धानमा कोषले काम गर्न चाहिरहेको बताए । बौद्ध दर्शनमा रहेर पर्यावरणीय क्षेत्रमा कार्य गर्न सकिने र छिट्टै ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा विश्वविद्यालयका डीन उकेशराज भुजु, डा.माणिकरत्न शाक्य, अनुसन्धान निर्देशक प्रा.डा. गीतु गिरी, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक डा.चिरञ्जीवी प्रसाद पोखरेल लगायतले बुद्धले प्रकृति संरक्षणमा दिएका उपदेश र त्यसको प्रयोगात्मकताको विषयमा चर्चा गरेका थिए ।