१५ वैशाख, गलेश्वर । राजनीतिक दलका उम्मेदवारले चुनावप्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका राजनीतिक दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । आसन्न निर्वाचनमा जिल्लाका छवटै स्थानीय तहमा कांग्रेसले चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले जानकारी दिए । एमाले म्याग्दीले पनि आफ्ना उम्मेदवारलाई जिताउन चुनाव प्रचार अभियानलाई तीव्रगतिमा अघि बढाएको छ भने माओवादीले पनि घरदैलो अभियान सुरु गरेको जनाएको छ । अन्य दल र स्वतन्त्र उम्मेदवार पनि मतदाताका घरदैलोमा पुग्न थालेका छन् ।
यसैक्रममा कांग्रेस बेनी नगर समितिले विभिन्न वडामा मतदाता भेटघाट कार्यक्रम सुरु गरेको छ । बुधबार बेनी नगरपालिका–२ ज्यामरुक कोटमा वडा सम्पर्क समिति स्थापना गरेर कांग्रेसको तर्फबाट नपाका प्रमुखका उम्मेदवार चिरञ्जीवी शर्मा पौडेल सहितको उम्मेदवार टोलीले घरदैलो गरेको छ । आज पनि कांग्रेसले जिल्लाका छवटै स्थानीय तहका उम्मेदवारलाई आ–आफ्नो स्थानीय तह र वडामा सामूहिक रूपमा घरदैलो अभियान गरी मतदाताका समस्या बुझ्न र आफ्ना कुरा राख्न गाउँगाउँमा खटाएको छ ।
त्यसैगरी एमालेले पनि बेनीबजारमा बेनी नपा प्रमुख, उपप्रमुख तथा बेनपा–७ र ८ वडाका विभिन्न पदमा एमालेबाट उम्मेदवारी दर्ता गरेका उम्मेदवारले घरदैलो अभियान गरेका छन् । उनीहरुले घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्षरूपमा भेटघाट गरेर आफू र एमालेको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरेका हुन् । एमाले बेनी नगरपालिकाका उम्मेदवार सुरत केसीसहितको टोली बेनी नपा–७ र ८ वडामा घरदैलो अभियान गरी मत मागेका छन् ।
निर्वाचनमा एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन समेत आग्रह गरेको जनाएको छ । घरदैलो अभियानका क्रममा मतदाता समक्ष आफू र पार्टीलाई भोट माग्दै बेनी नपा प्रमुखका उम्मेदवार केसीले बेनी नपालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि आफू चुनावी मैदानमा होमिएको बताए।
घरदैलो अभियान कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लीलाराम गौतम लगायत नेता तथा कार्यकर्ता सहभागी भएर बेनीमा केसी नेतृत्वको एमालेको टिमलाई विजयी बनाउन मतदातालाई भोट दिन अपिल गरेका छन् ।
यसैगरी माओवादी केन्द्रले पनि बेनी नगरसहित जिल्लाका छवटै स्थानीय तहका वडामा घरदैलो अभियान सुरु गरेको जिल्ला नेता शेरबहादुर केसीले जानकारी दिए । बेनी नगरका क्षेत्रमा कूल १० वटा वडा रहेका छन् । आसन्न निर्वाचनका लागि २१ हजार ८४२ मतदाता रहेको बेनीमा १७ मतदानस्थल र २८ मतदान केन्द्र छन् । यसैगरी आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै म्याग्दीको अन्य पालिकामा पनि एमालेका उम्मेदवारले प्रचारप्रसारसँगै आफू र पार्टीलाई भोट मागेका छन् ।
आसन्न निर्वाचनका लागि जिल्लाभर कूल ८५ हजार ३७५ मतदाता कायम भएकामा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र अन्यतर्फ एक मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचनमा ६१९ म्यादी प्रहरी छनोट गरिएको छ ।