१९ वैशाख, काठमाडौँ । “समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा (एमाले) पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले भने, “अबको दीगो विकासको मोडल युवालाई थाहा हुन्छ, समाजले अहिले युवा नै नेतृत्व खोजेको छ ।”
स्नातक अध्ययन गरेर सामाजिक क्षेत्रमा क्रियाशील हुँदाहुँदै राजनीतिमा आकर्षित भएका बस्नेत आफ्नो वडामा जे परे पनि पुग्छ । खानेपानी, सडक विकास, दुःखसुखमा सामेल हुने गरेको छ । “म मतदाताको घरघरमा पुगेको छु, दुःख सुखमा साथ दिएको छु”, उनले उत्साहित भएर थपे, “मतदाताले महसुस हुने गरी काम गरेको छु ।”
विद्यालयमा पढ्दै १५ वर्षको उमेरदेखि नै वडाको युवा सङ्घमा आबद्ध भएर राजनीतिमा प्रवेश गर्नुभएका बस्नेतसँग उक्त नगरको युवासङ्घ अध्यक्ष र युवासङ्घ ललितपुर जिल्लाको कोषाध्यक्ष भएर काम गरेको अनुभव छ । “समाजको विकासका लागि मूल नीति भनेको राजनीति नै हो भन्ने भनेको मलाई लाग्यो”, उनले राजनीतिप्रति आफ्नो मोह बढ्नुका कारण सुनाउँदै भने, “मुलुकको विकास, सुशासन र समृद्धिका लागि राजनीति नै रैछ, त्यसका लागि युवा नेतृत्वको आउनुपर्छ ।”
आफूले फोहर व्यवस्थापन, खानेपानी, विकास निर्माणका काममा सक्रिय भएर काम गरिरहेको र निर्वाचन जितेमा थप क्रियाशील भएर काम गर्न प्रोत्साहन र नैतिक बल पुग्ने उनको ठम्याइ छ ।
बस्नेत जस्तै सानैदेखि राजनीतिमा क्रियाशील ३३ वर्षीय सङ्गीता पाख्रिन पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएर अहिले गठबन्धनबाट भीमेश्वर नगरपालिका दोलखाको उपप्रमुखमा उम्मेदवारी दिएको छ । पाख्रिन २०५६ मा कक्षा ६ अध्ययन गर्दा १४ वषमै अनेरास्ववियू प्रारम्भिक कमिटीको अध्यक्ष भएर काम गरेका थिए । विसं २०६५ मा गौरीशङ्कर क्याम्पस दोलखाको अनेरास्ववियू कोषाध्यक्ष हुँदै अनेरास्ववियू दोलखा जिल्ला अध्यक्ष र अनेरास्ववियू केन्द्रीय सदस्य भएर काम गरेको अनुभव छ उनीसँग ।
“भीमेश्वर नगरपालिकालाई समृद्ध र पर्यटकीय सहर निर्माण गर्नेछु”, उनले भने, “सबै तह वर्गको विकासमा ध्यान दिनेछु, जनताको साथमा रहनेछु, साथ निभाउनेछु ।”
समाजको विकासका लागि युवापुस्ता जरुरी भएको र युवालाई स्थानीय तहमा रोजगारी र अवसरका लागि युवाले नयाँनयाँ भिजन बनाएर काम गर्ने उनको सोच छ ।
काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रमुख पदका उम्मेदवार ३५ वर्षीया विनिता मगैया पेसाले आर्किटेक्ट इञ्जिनीयर हो । उनी अहिले राजनीतिमार्फत महानगरको मुहार फेर्न चाहान्छ ।
“मेरो विज्ञता सम्पदामा हो, अलकापुरी कान्तिपुरी नगरीलाई सफा राख्ने मन छ”, उनले निर्वाचन जितेमा आफैँले गर्ने कामको योजना सुनाउँदै भने, “काठमाडौँ महानगरमा सफा खानेपानी र फोहरमुक्त सहर बनाउनसके ठूलो उपलब्धि हो, त्यसैमा मेरो पूर्ण ध्यान हुनेछ ।”
महानगर बासिन्दाले सफा हावामा श्वास फेर्ने वातावरण बनाउने प्रयास गर्ने उनको भनाइ छ । “महानगरमा युवा नेतृत्वको खाँचो छ, जोस, जाँगर र आँट भएको नेतृत्व चाहिन्छ”, उनले थपे । स्थानीय तहका उम्मेदवार बस्नेत, पाख्रीन र मगैया यी प्रतिनिधि पात्र मात्रै हुन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार स्थानीय तह निर्वाचन–२०७९ मा २१ वर्षदेखि ९४ वर्षसम्मकाले उम्मेदवारी दिएका छन् । तीमध्ये २१–४० वर्षका युवा छन् जुन ४१ प्रतिशत हो । कूल उम्मेदवारी एक लाख ४४ हजार ८५९ जनाको परेकामा युवा ५९ हजार ४०२ जना छन् ।
आयोगको तथ्याङ्कमा २१ वर्षका उम्मेदवार ४१२ जना छन् । तीमध्ये २६ जना गाउँपालिका प्रमुख÷अध्यक्षका उम्मेदवार छन् । त्यस्तै, निर्वाचनमा ३१–४० वर्ष उमेर समूहका ४३ हजार ४४२ र २१–३० वर्ष उमेर समूहका उम्मेदवार १५ हजार ९६० छन् । यो निर्वाचनमा ३७ लाख नयाँ मतदाता थपिएका छन् । तीमध्ये ९० प्रतिशत १८ देखि २५ वर्ष उमेर समूहका छन् ।