कर्णाली प्रदेश

‘सुशासित, समन्नुत र सुसंस्कृत वीरेन्द्रनगर’ मुख्य चुनावी एजेण्डा


२० वैशाख, कर्णाली । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका प्रदेशमा सबैभन्दा बढी मतदाता पनि यहीँ छन् । १६ वडा र ६७ हजार मतदाता रहेका वीरेन्द्रनगरमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न मुख्य दलहरुबीच प्रतिस्पर्धा छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदेशका अन्य पालिकाभन्दा यतिबेला वीरेन्द्रनगरमा सबैको नजर परेको छ । पार्टीका केन्द्रीय नेतादेखि शुभेच्छुक/कार्यकर्ताहरु उम्मेदवारसँगै घरदैलोमा व्यस्त छन् । चुनावी अड्कलबाजीसँगै राजधानी नगरको जित–हार मुख्य दलहरुका लागि प्रतिष्ठाको विषय बनेको छ । 

अघिल्लो निर्वाचन परिणाम हेर्दा यहाँ नेपाली कांगे्रस र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा थियो । मेयर (प्रमुख) कांगे्रस, उपमयेर (उपप्रमुख) एमालेले जितेका थिए । वडातर्फ एमालेले नौ, कांगे्रस छ र नेकपा (माओवादी केन्द्र) ले एक वडामा जित हासिल गरेका थिए । यसपटक प्रमुख/उपप्रमुख पदमा कांगे्रस–माओवादी केन्द्रले तालमेल गरेका छन् । वडामा भने अलगअलग उम्मेदवारी छ । मेयरमा कांगे्रसका नगरसभापति उपेन्द्र खड्का तथा उपमेयरमा माओवादी केन्द्रकी शान्ति ढकालको उम्मेदवारी छ । 

कांगे्रस–माओवादी केन्द्र संयुक्त चुनावी प्रचारमा छन् भने एमाले एक्लै । एमालेबाट नगरप्रमुखमा निवर्तमान उपप्रमुख मोहनमाया ढकाल र उपप्रम्खमा निवर्तमान वडा नं ४ का अध्यक्ष निलकण्ठ खनालको उम्मेदवारी छ । ढकाल पार्टी केन्द्रीय सदस्य तथा खनाल नगर कमिटी अध्यक्ष छिन् ।

वीरेन्द्रनगरको प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पूर्वनगरप्रमुख एवं सोही पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी र उपप्रमुखका लागि लक्ष्मी विक छिन् । अघिल्लो निर्वाचनमा ‘प्रभाव शून्य’ देखिएको राप्रपा यसपटक ‘हेभिवेट’ उम्मेदवारका साथ मैदानमा उत्रिएको छ । सो पार्टीले सबै वडामा उम्मेदवारी दिएको छ । प्रमुख पदका उम्मेदवार गिरी विसं २०६१ मा नगरप्रमुख, विसं २०४३ मा लाटीकोइली गाउँका प्रधानपञ्च छिन् । वीरेन्द्रनगरको चुनावी मैदानमा यसपटक नेकपा (एकीकृत समाजवादी) पनि थपिएको छ । सो पार्टीले नगरप्रमुखमा धना शाही र उपप्रमुखमा वीरबहादुर रावतलाई उम्मेदवार बनाएको छ । 

मुख्य प्रतिस्पर्धी दल कांगे्रसले तेस्रो ठूलो दल माओवादी केन्द्रसँग तालमेल गरेपछि एमालेलाई चुनौती थपिएको छ । उम्मेदवारले घरदैलो र चुनावी सभामार्फत प्रचार अभियानलाई तीव्रता दिएका छन् । चुनाव चिह्न, पार्टीका झण्डा, ब्यानरसहित दलका प्रचार अभियानले वीरेन्द्रनगरमा चुुनावी माहौल तातेको छ । कांगे्रसले आफ्नो नेतृत्वमा वीरेन्द्रनगरमा भएका विकासका आधारमा मूल्याङ्कन गरेर जनताले यसपटक पनि पुनःनिर्वाचित गराउने अपेक्षा राखेको छ । कांगे्रसका नगरप्रमुख उम्मेदवार उपेन्द्र खड्काले सङ्गठित मतदाता, विकास निर्माणमा कांगे्रसले लिएको अग्रसरता, माओवादी केन्द्रसँगको तालमेलका कारण आफूले सहजै जित्ने दाबी गरे । ‘सुशासित, समन्नुत र सुसंस्कृत वीरेन्द्रनगर’ कांग्रेसको मुख्य एजेण्डा हो । 

उम्मेदवार खड्काले असल शासन, जवाफदेहिता, शिक्षा, युवा तथा खेलकुदको विकास, घरघरमै टेलिमेडिसिन सेवा, एक टोल एक कृषि उपज सङ्कलन केन्द्र, उद्यमशिलता र रोजगारी, एक वडा एक उद्यमशिलता केन्द्र, पर्यटन प्रवद्र्धन, नगर बस सञ्चालन, एक घर एक विरुवा, फोहरमैला व्यवस्थापन, सामाजिक न्याय र सशक्तिकरण, कला संस्कृतिको संरक्षण, सूचना प्रविधिमैत्री सुरक्षित नगर बनाउने प्रतिबद्धता अघि सारेका छन् । बुलबुले–काँक्रेबिहार सर्किट निर्माण गरी ¥याफ्टिङ सञ्चालनमा ल्याउने, सामूहिक बीमा कार्यक्रम लागू गर्ने, पशु सुत्केरी भत्ताको व्यवस्था गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम बनाई लागू गर्ने उनका योजना छन् । 

एमालेबाट नगरप्रमुख पदका उम्मेदवार मोहनमाया ढकालले बलियो सङ्गठन, सङ्गठित मतदाता, नगरको विकासमा पार्टीले निर्वाह गरेको भूमिका र पार्टीको लोकप्रियताका कारण आफूले जित्ने दाबी गरिन्। एमालेले महानगर तथा उपमहानगर नभएको कर्णाली प्रदेशमा वीरेन्द्रनगरलाई ‘उपमहानगर’ बनाउन आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने, तीन वर्षभित्र भेरी लिफ्टिङ आयोजना सम्पन्न गर्ने, ज्येष्ठ नागरिकका हात–हातमा वृद्ध भत्ता पु¥याउने, चक्रपथ निर्माणलाई पूर्णता दिने, नगर यातायात सञ्चालन, पार्किङ क्षेत्र व्यवस्थापन, बसपार्क विस्तार, उपयुक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पहल गर्ने प्रतिबद्धता अघि सारेको छ । नगरविकास प्राधिकरण गठन गरी सुर्खेत उपत्यका गुरुयोजनाको कार्यान्वयन हुने गरी विकास आयोजना सञ्चालन गर्ने एमालेको चुनावी एजेण्डा छ । 

एकीकृत समाजवादीबाट नगरप्रमुखको उम्मेदवार धना शाहीले पुराना पार्टीहरुबाट आममतदाता आजित भएकाले आफूहलाई जिताउने दाबी गरे । उनले भने, “हाम्रो दल नयाँ हो, पुराना पार्टीहरूबाट आजित नगरवासीले विकल्प खोजेका छन्, यसकारण पनि हाम्रो पक्षमा जनमत सिर्जना हुने अपेक्षा छ ।” राप्रपाबाट प्रमुखका उम्मेदवार गिरीले विगतमा राजनीतिक र सामाजिक क्षेत्रमा आफूले गरेको कामबाट जनता प्रभावित भएकाले आफूले जित हासिल गर्ने बताए। उनले तत्कालीन क्षेत्रीय अस्पताल स्थापना, सुर्खेत विमानस्थल विस्तार, विभिन्न सडक योजनाको गुरुयोजना बमोजिम ट्रयाक निर्माण, खानेपानी लाइन वितरण, विभिन्न वडामा सामुदायिक विद्यालय स्थापनामा आफूले भूमिका खेलेको उनको दाबी छ । 

उनले यसपटक सुर्खेत उपत्यकाको गुरुयोजना कार्यान्वयन, विमानस्थल विस्तार, वीरेन्द्रनगरको विद्युत् र पिउनेपानी समस्या समाधानलाई मुख्य प्राथमिकतामा राखेका छन् ।