गण्डकी प्रदेश

घिरिङमा मतगणनास्थल परिवर्तन

२९ वैशाख, दमौली । तनहुँको घिरिङ गाउँपालिकामा मतगणनास्थल परिवर्तन गरिएको छ । यसअघि वडा नं ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मतगणना गर्ने निर्णय भए पनि बुधबार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिकाको प्रशासकीय भवनमा मतगणनास्थल तय गर्ने निर्णय गरेको घिरिङका निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए । विद्यालय भवनमा सुरक्षाको प्रत्याभूति नहुने र निर्वाचनलगत्तै विद्यार्थी भर्नालगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा (एमाले)ले विरोध जनाएको थियो । विद्यालयको भवनमा सुरक्षाको प्रत्याभूति नहुने र मतगणनाको क्रममा धाँधली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनुपर्ने माग गरेको एमाले गाविस अध्यक्ष विष्णुप्रसाद ढकालले बताए ।