२९ वेशाख, काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिरको प्राण–प्रतिष्ठा समारोहमा हजारौँ भक्तजनको भीड लागेको छ ।
हालै निर्माण सम्पन्न भएको मन्दिर वैशाख २६ गतेदेखि पाँच दिने प्राण–प्रतिष्ठा अनुष्ठान सुरु भएको छ । स्थानीय तह निर्वाचनको सरगर्मीकाबीच भक्तजन मन्दिर क्षेत्रको कार्यक्रममा उपस्थित भएका छन । अनुष्ठानको तेस्रो दिन बुधबारसम्म हजारौँ भक्तजनले मन्दिर क्षेत्रमा दर्शन गरेका छन् ।
वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । अनुष्ठानमा विभिन्न धार्मिक सन्त, महन्तद्वारा प्रवचनसमेत चलिरहेको छ । हालसम्म वेणुगोपाल मन्दिर मैतीदेवीका मठाधीश यतीन्द्राचार्य, धापासीबाट नारायण आचार्य, काभ्रेपलाञ्चोक जिल्लाको खोपासीस्थित गोदा रङ्गनाथ मन्दिरका मठाधीश स्वामी कमलनयनाचार्य र वेङ्कटेश मन्दिर बत्तीसपुतलीका मठाधीश पद्मधराचार्यले प्रवचन गरिसकेका छन । प्रवचनका क्रममा उनीहरुले हालसम्म नेपालको अन्य स्थानमा नबनेको लक्ष्मी ह्यग्रीवको ऐतिहासिक मन्दिर निर्माण हुनु महत्वको विषय भएको बताए ।
सबैको अन्तिम आश्रय भगवान् नै भएकाले मन्दिर क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको भीड बढ्ने उनीहरुको भनाइ थियो ।
प्राण–प्रतिष्ठा अनुष्ठान शुभारम्भका दिन वैशाख २६ गते पूर्वाङ्गसहित मृदाहरण र ध्वजारोहण गरिएको छ । दोस्रो दिन वैशाख २७ गते अग्निस्थापना विधिसहित मूर्तिलाई जलाधिवास गराइएको छ । तेस्रो दिन बुधबार यज्ञसहित धान्याधिवास गराइएको रुरुक्षेत्र पीठाधीश स्वामी श्रीजगदीश प्रपन्नाचार्यले जानकारी दिए ।
चौथो दिन आज यज्ञसहित शथ्याधिवास गराइँदैछ । अनुष्ठानको पाँचौँ एवं अन्तिम दिन शुक्रबार नेत्रोन्मिलन र कुम्भ आरतीको कार्यक्रम रहेको उनले सुनाए । यस दिन मन्दिरमा दर्शन गर्दा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ । यस दिन भगवान्लाई अर्पण गरेअनुसार भक्तजनले फल पाउने छन् ।
घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकोलाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गरेका थिए । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिनुभएको वर्णन विभिन्न वैदिक एवं शास्त्रीय ग्रन्थमा गरिएको छ ।
ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले ह्यग्रीव रुपधारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गरेको विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको लक्ष्मी ह्यग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले राससलाई जानकारी दिए । ह्यग्रीव रुपधारण गरेर भगवान् विष्णुले वेदको उद्धार गरेका सन्दर्भ श्रीमद्भागवतको द्वितीयस्कन्ध सात अध्यायको ११औँ श्लोकमा वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको छ ।
भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ । ह्यग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकून् भनी बर मागेकाले भगवान् विष्णुले ह्यग्रीव रुप धारण गरेका हुन । भगवान् ह्यग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो ।
भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुभएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदीश प्रपन्नाचार्यले बताए ।
स्कन्द पुराण अन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तिर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो”, प्रपन्नाचार्यले भने ।
कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ। वामन अवतार लिएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी जगदीश प्रपन्नाचार्यले बताए । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।
यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रुपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदीशको विश्वास छ । सुन्दरीजलको तल्लो भागमा पर्ने योस्थल सुन्दराचलकै आधुनिक रुप हो ।
नेपाल माहात्म्यको ३२औँ अध्यायको २८, २९ र ३०औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् ह्यग्रीव बस्छन भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरबाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको थियो । यहाँको प्राचीन महत्व थाहा पाएपछि स्थानीयवासी मन्दिर निर्माणमा जुटेका हुन् ।
यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासी जुटेका छन् । मन्दिर व्यवस्थापन एवं निर्माण समितिका अध्यक्ष ध्रुव सिम्खडा लक्ष्मी ह्यग्रीव मन्दिर र कोलमतेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको बताउछन । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाकै सहयोग यस क्षेत्रको गुरुयोजना बनाइ कार्यान्वयन हुन लागेको उनले भने ।