३० वैशाख, टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । ९ वडा रहेको टीकापुरमा १६ मतदान केन्द्र तथा ५७ मतदानस्थल छन् ।
५७ मतदानस्थलमध्ये १८ मा मतदान अधिकृत महिला तोकिएका छन् । त्यसैगरी २५ महिला सहायक मतदान अधिकृतमा खटाइएको नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अघिल्लो निर्वाचनलाई हेर्दा यी बुथमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी पाउनेमा महिलाको संख्या बढेको जनाइएको छ । टीकापुर नगरको प्रशासकीय अधिकृत रञ्जु आचार्यले यसपटक मतदान अधिकृत महिलाको संख्या बढेको बताए। “यसपाली मतदान अधिकृत, सहायक मतदान अधिकृतमा महिलाको सङ्ख्या बढेको छ, त्यहाँ खटेका अन्य महिला कर्मचारीको सङ्ख्यासमेत बढी छ”, आचार्यले भने ।
यसअघि सहायक वा सहयोगी कर्मचारी भएर निर्वाचनमा खटिएका महिला यसपटक मतदान अधिकृत हुन पाउँदा जिम्मेवारीसँगै सिकाइसमेत हुने बताउँछन् । टीकापुर नगरको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले स्थानीय तहका कर्मचारी नै निर्वाचनमा खटिएकाले टीकापुरमा कार्यरत कर्मचारी महिलाको सङ्ख्या धेरै भएकोमा खुसी व्यक्त गरे । उनले भने, “महिला कर्मचारीको सङ्ख्या बढेपछि यसपटक निर्वाचनमा समेत महिलाले जिम्मेवारी पाएका हुन् ।”
उनका अनुसार पुरुष मतदान अधिकृत रहेका ठाउँमा महिला कर्मचारी धेरै खटेकाले यसले महिलालाई सिक्ने अवसर र जिम्मेवारी पूरा गर्न सक्षम छन् भन्ने देखाउँछ । टीकापुर नगरमा ५२ हजार ८७२ मतदाता छन् ।