गण्डकी प्रदेश

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा एमाले विजयी


३१ वैशाख, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका टसीनर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले ६२२ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतले जनाएको छ ।

गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका टसी गुरुङले ५१४ र उपाध्यक्षमा विष्टकी प्रतिस्पर्धी छिरिङ ढोका गुरुङले ५२९ मत पाएका निर्वाचन अधिकृत घनश्याम सुवेदीले बताए ।  

लोमान्थाङको वडा नं १ र ५ मा कांग्रेसका तथा २, ३ र ४ नं वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा पेमाआङग्या गुरुङ, २ मा कर्म नामग्याल गुरुङ, ३ मा आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ र ५ मा ढुकके विष्ट वडाध्यक्षमा निर्वाचित भएका छन् । 

पाँचवटा वडा रहेको लामोन्थाङमा एक हजार ९४८ जना मतदाता रहेकामा शुक्रबार मतदानमा एक हजार २३१ मत खसेको थियो । मुस्ताङको पाँचवटा स्थानीय तहमध्ये थासाङ बाहेकका स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । एमालेले लोमान्थाङसहित लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र तथा कांग्रेसले घरपझोङ गाउँपालिकामा जीत हासिल गरेको छ ।