गण्डकी प्रदेश

तनहुँमा विभिन्न दलको मिश्रित अग्रता

१ जेठ, दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी रहेको तनहुँको नौ पालिकामध्ये चार पालिकामा नेकपा (एमाले), तीन पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएका छन् ।

गठबन्धनका तर्फबाट कांग्रेसले शुक्लागण्डकी नगरपालिकाको प्रमुख, भानु नगर प्रमुख, उपप्रमुख र ऋषिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिएको छ । एमालेले म्याग्दे गाउँपालिकाको अध्यक्ष, भीमाद नगर प्रमुख, उपप्रमुख, देवघाट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष, घिरिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिएको छ ।

यसैगरी माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

व्यास नगरपालिकामा भने मतगणना सुरु भएको छैन । व्यास नगरपालिका–८ को दुई वटा मतदान केन्द्रमा जेठ ४ गते पुनः मतदान भएपछि मात्रै यहाँको मतगणना सुरु हुने जनाइएको छ । जिल्लामा हालसम्म ८५ वडामध्ये १२ वडाको नतिजा सार्वजनिक भइसकेको छ ।