बाग्मती

भरतपुर महानगरमा गठबन्धनको अग्रता कायमै


१ जेठ, चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै रहेको छ । महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा गठबन्धनको उम्मेदवारहरुले अग्रता कायम गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले दुई हजार २१२ मत प्राप्त गरेकी छिन् । त्यस्तै प्रमुख पदमा नेकपा (एमाले)का विजय सुवेदीले दुई हजार १८९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७३२ मत प्राप्त गरेका छन् । दाहालले २३ मतले अग्रता कायम गरेका हुन् ।

उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी राप्रपाकी हिमला गुरुङ्ले एक हजार ६५ मत प्राप्त गरेकी छिन् । वडा नं २ मा वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मनोज रानाभाटले एक हजार २४९ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार कृष्ण केसीले एक हजार २२५ मत प्राप्त गरेका छन् । सो वडामा दुई हजार ९०० मत गणना भएको छ । वडामा कूल चार हजार ८०८ मत खसेको छ । यसअघि वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका थिए ।   

भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरुमा रत्ननगर, खैरहनी, कालिका, राप्तीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।