बाग्मती

काठमाडौं महानगरका मेयर उम्मेद्वारको अहिलेसम्मको मतपरिणाम, स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै

२ जेठ, काठमाण्डौ । काठमाडौ महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६ हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन ।

नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ५६२ र नेपाली कांग्रेसका सिर्जना सिंहले दुई हजार ६९२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले पाँच हजार ८९६, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ६३२ मत प्राप्त गरेका छन । 

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ । 

वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन । 

केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । कामपामा हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ ।