गण्डकी प्रदेश

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

२ जेठ, वालिङ । स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको छ ।

स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।

प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्तरले पछि पार्दै विजयी भएका छन । प्रमुखमा कर्माचार्यले ६ हजार ५०४ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी  एमालेका अर्यालले पाँच हजार ६६९ मत ल्याए । उपप्रमुखमा अर्याल र अधिकारीबीच दुई हजार २६९ को मतान्तर रहेको छ ।

त्यस्तैगरी उपप्रमुखमा कांग्रेसकी भगवती रेग्मी अर्याल सात हजार १९७ मतसहित विजयी भएका छन भने उनकी प्रतिस्पर्धी सरस्वती अधिकारीले चार हजार ९२८ मत प्राप्त गरे ।

नगरपालिका–१, २, ३, ४, ५, ७, ८ र ९ गरी आठवटा वडामा कांग्रेसका अध्यक्षका उम्मेदवारहरू विजयी भएका छन् भने वडा नं ६ मा एमालेका अध्यक्ष मात्रै विजयी भएका छन ।  भिरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकामा १३ हजार १३ जनाले मतदान गरेका थिए । 

त्यस्तै उपप्रमुखमा कांग्रेसकै हेमा न्यौपाने विजयी भएका छन । उनले एमालेकी देवीसरा थापालाई ६३ मतले पराजित गरेका छन । विजयी न्यौपानेले नौ हजार ११८ मत प्राप्त गरेका छन भने पराजित थापाले नौ हजार ५५ मत ल्याए ।

हरिनास गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार बनेका खिमनारायण मानन्धरले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पछि पार्दै विजयी भएका छन । विजयी  भएका मानन्धरले चार हजार ७६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका भुजेलले चार हजार ७३२ मत ल्याए ।

मानन्धर यसअघिको निर्वाचनमा विजयी भएर गाउँपालिकाको अध्यक्ष बनेका थिए । दोस्रो पटक अध्यक्षमा झिनो मतान्तरले विजयी बनेका मानन्धरसँग उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी राना थापा २४ मतले विजयी भएका छन । उनले चार हजार ७४० मत प्राप्त गरी विजयी भएका छन भने उनका प्रतिस्पर्धी मिठु लम्सालले चार हजार ७१६ मत ल्याए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा विजयी भएका छन । उनले कांग्रेसकी माया रानालाई एक हजार ६४५ मतान्तरले पराजित गर्दै विजयी भएका छन ।

थापाले ६ हजार ७०० मत प्राप्त गरेका छन भने उनको प्रतिद्वन्द्वी कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बनेकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गरेका छन । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै सावित्रा कोइराला विजयी भएका छन । उनले ६ हजार २२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले चार हजार ८३९ मत पाएका छन ।