बाग्मती

शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेसको अग्रता

३ जेठ, काठमाण्डौ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन । वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा नापितले तीन हजार ७०३ मत पाएका छन । उनलाई पछ्याउँदै नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले तीन हजार ४८५ मत प्राप्त गरेका नगर निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेका कृष्णलाल बजगाइँले तीन हजार १०६ मत पाएका छन । नेकपा (माओवादी केन्द्र) का मधु (नीरज) केसीले दुई हजार ८५ मतका साथ प्रतिस्पर्धामा छन ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठको अग्रता छ । उनले पाँच हजार ५३४ मत पाएका छन । राप्रपाकी विजयकुमारी वाइवाले दुई हजार ५४२ मत प्राप्त गरेका छन । एमालेकी लक्ष्मी केसीले दुई हजार ३४० मतका साथ पछ्याएका छन । नेकपा मोवादीकी चण्डिका दङ्गालले दुई हजार १३२ मत पाएका छन । कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा १७ हजार १५० मत खसेको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिए । हालसम्म १४ हजार ४३३ मतगणना सम्पन्न भएको छ । दुई हजार ७१७ मत गन्न बाँकी रहेको उनले बताए ।

नगरपालिकाको वडा नं. ४ मा कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी भएको छ । कांग्रेसका सुनाबहादुर तामाङ नेतृत्वको समूह वडामा विजयी भएको हो । वडा नं. ७ मा राप्रपाका विष्णुप्रसाद श्रेष्ठ समूहसहित विजयी भएका छन । श्रेष्ठ वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्ष विजयी भएका थिए । वडा नं. १ एमाले, २ मा काँग्रेस, ३ मा माओवादी, ८ र ९ मा पनि कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् ।

अहिलेसम्म नगरपालिकाको सात वटा वडाको मतगणना सकिएको छ । नौ वटा वडा रहेको नगरपालिकाको वडा नं. ५ र ६ को अहिले मतगणना भइरहेको छ । आज बेलुकीसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यालयको तयारी छ । यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँच वटा वडा पनि एमालेले जितेको थियो ।