४ जेठ, कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रमुख–उपप्रमुख पदमा पुनः कांग्रेस उम्मदेवार दोहोरिएका छन् । कांग्रेसका प्रमुख पदका उम्मेदवार हस्त पुनले नेकपा (एमाले)का तिलक खत्रीलाई एक हजार ७९२ मत पराजित गर्दै विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पुनले ११ हजार ९७८ र उनका निकटतम् प्रतिद्वन्द्वी खत्रीले १० हजार १८६ मत प्राप्त गरे। उपप्रमुखमा मैना विकले ११ हजार ७४३ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला विश्वकर्माले १० हजार २९९ मत प्राप्त गरिन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पुन र विक प्रमुख–उपप्रमुख पदमा निर्वाचित भएको थियो ।
लेकबेँसी नगरपालिकाको प्रमुखमा कांगे्रसका उमेशकुमार पौडेल र उपप्रमुख पदमा एमालेका विमला खड्लुक विजयी भएका छन् । एमालेका देवबहादुर रानालाई २६५ मतान्तरले पराजित गर्दै पौडेलले छ हजार ६३९ मत ल्याएर विजयी भएका छन् । रानाले छ हजार ३७४ मत प्राप्त गरे । उपप्रमुखमा विजयी एमाले उम्मेदवार खड्लुकले छ हजार १०९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) देउकली थापामगरले पाँच हजार ४४० मत प्राप्त गरे । यहाँ प्रमुख–उपप्रमुख पदमा कांगे्रस र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । विसं २०७४ को निर्वाचनमा लेकबेँसी नगरपालिकाको प्रमुख–उपप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको थियो ।
सुर्खेतका नौमध्ये चार स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी छ । सिम्ता गाउँपालिका, भेरीगङ्गा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकामा मतगणना जारी छ । पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा कांगे्रस तथा चिङ्गाड गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएको घोषणा भइसकेको छ । त्यहाँको निर्वाचन मतपरिणाम मङगलबार सार्वजनिक भएको थियो ।