बाग्मती

कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

६ जेठ, काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी भएका छन ।

कार्कीले ११ हजार ३२२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी  नेकपा(एमाले)का रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याएका निर्वाचन अधिकृत शारदा राउतले   जानकारी दिए । 

वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख पदमा कृष्णहरि थापा निर्वाचित भएका थिए । एमाले फुटेपछि उनी नेकपा (एकीकृत समाजवादी)मा लागेका हुन । यसपटक पनि समाजवादीका तर्फबाट नगर प्रमुख पदमा लडेका थापा तेस्रो भए ।

यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले नौ हजार ९७५ मतका साथ विजय हासिल गरेका छन । उनलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र)का भोला चापागाईंले पाँच हजार ४२२ मत पाए । 

नगरपालिकाको वडा नं. १, ३, र ४ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । वडा नं. ६ मा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जित्न सफल भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेस वडा नं. २, ५, ७, ८ र ९ मा वडा अध्यक्ष जित्न सफल भएको छ ।

नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । त्यसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमाले छ वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा मात्र जितेको थियो ।