बाग्मती

उत्तरपूर्वी भेगका तीन नगरपालिकामा प्रमाणपत्र र दुईका नगर प्रमुखलाई शपथ

६ जेठ, काठमाण्डौ । स्थानीय तह निर्वाचनमा नवनिर्वाचित दुई नगरपालिकाका नगरप्रमुखलाई शपथ र तीन नगरपालिकाका जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई आज शपथ गराइएको छ । काठमाडौँ महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत एवं काठमाडौँका वरिष्ठ जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले क्रमशः दीपक रिसाल र रमेश नापितलाई शपथ गराएका छन।

शपथपछि सम्बन्धित नगरपालिकाका नगर निर्वाचन अधिकृतले प्रमाणपत्र वितरण गरेका छन । गोकर्णेश्वरका नगर निर्वाचन अधिकृत रञ्जु गौतमले नगरप्रमुख रिसाललगायत त्यस नगरपालिकाका जनप्रतिनिधि, कागेश्वरी मनोहरा नगरपालिकाका निर्वाचन अधिकृत शारदा राउतले त्यस नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलगायत जनप्रतिनिधि र शङ्खरापुर नगरपालिकाका नगर निर्वाचन अधिकृतले त्यस नगरपालिकाका नगरप्रमुख नापितलगायत जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका छन ।

कागेश्वरी मनोहरामा भने आज बिहान मात्र निर्वाचन परिणाम सार्वजनिक भएकाले शपथ ग्रहण गर्न बाँकी छ । नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुसमा सहभागी हुनुपर्ने भएकाले सोमबार शपथ ग्रहण हुने कागेश्वरी मनोहराकी नगर निर्वाचन अधिकृत राउतले बताए ।

नगरप्रमुखले जिल्ला न्यायाधीशसँग शपथ लिएपछि उपप्रमुख र अन्य जनप्रतिनिधिलाई शपथ गराउने कानुनी व्यवस्था छ । तीनवटै नगरपालिकामा अन्य जनप्रतिनिधिको शपथ भने सोमबार हुने जनाइएको छ । प्रमाणपत्र वितरण कार्यक्रममा पूर्व र नवनिर्वाचित जनप्रतिनिधिले सहमति र सहकार्यका आधारमा नगर क्षेत्रको विकासका लागि एकताबद्ध भएर काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका थिए ।