लुम्बिनी

पाल्पाको रम्भामा एमालेको अग्रता

८ जेठ, रामपुर । पाल्पाको रम्भा गाउँपालिकामा अहिलेसम्म नेकपा (एमाले)ले अग्रता लिएकोछ । एमालेबाट पालिका अध्यक्षका उम्मेदवार विष्णुप्रसाद भण्डारी चार हजार १८६ मतका साथ अगाडि छन । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दुर्गाप्रसाद अधिकारी तीन हजार ३४८ मतका साथ पछाडी छन ।

उपाध्यक्षतर्फ एमालेबाट उम्मेदवार बनेकी राधादेवी श्रेष्ठ चार हजार ३४४ मतसहित अगाडि छन । यस्तै उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले तीन हजार ६१३ मत पाएका छन । पालिकाको पाँच वडामध्ये हालसम्म चार वडाको मात्रै मतपरिणाम सार्वजनिक भएको छ ।

वडा नं ३ को मतपरिणाम आउन बाँकी छ । चार वडामा सार्वजनिक भएको मतपरिणामध्ये अध्यक्ष पदमा ७०२ र उपाध्यक्षमा ४९९ मत बदर भएको पाइएको छ । वडा नं १ मा नेपाली कांग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले एक हजार ६४३ मतसहित विजयी भएका छन । उनका प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाएका छन ।

यहाँ खुल्ला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य कांग्रेसका विजयी भएका छन् । वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मतसहित निर्वाचित भएका छन भने प्रतिस्पर्धी कांग्रेसका रमेशप्रसाद प्रसाईंले ७३६ मत ल्याएका छन ।

वडा नं ४ मा एमालेकै अध्यक्ष कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । निर्वाचित अध्यक्ष रायममाझीले ८३४ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी कांग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत पाएका छन । वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १४० मतसहित विजयी भएका छन भने प्रतिस्पर्धी कांग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत ल्याएका छन ।

यहाँ वैशाख ३० को निर्वाचनमा ११ हजार ४५७ मत खसेको थियो । बाँकी रहेको वडा नं ३ मा खसेको दुई हजार ९८४ मत गणना हुदैछ । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । विवाद समाधान पश्चात् यही जेठ ६ गते अपरान्हबाट मात्रै मतगणना कार्य थालिएको हो । पाल्पाका दश पालिकामध्ये अन्य नौ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।