बाग्मती

शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

८ जेठ, काठमाण्डौ । शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १२ गते हुने भएको छ । कार्यपालिका निर्वाचनका लागि शनिबार नै निर्वाचन कार्यतालिकासहित मतदाता नामावली पनि प्रकाशन गरिएको छ । कार्यपालिका निर्वाचनका लागि ४६ जना मतदाताको नामावली प्रकाशन गरिएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए ।

नौ वटा वडा रहेको नगरपालिकाको वडा नं. ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउनका लागि आजको मिति तय गरिएको थियो । यसमा कुनै उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।

जेठ १२ गते बिहान ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको उनले सुनाए । कार्यपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिलाबाट पाँच जना र दलित तथा अल्पसङ्ख्यकबाट तीन जना सदस्य निर्वाचित हुने व्यवस्था छ । यसरी नगरपालिकामा १९ सदस्यीय कार्यपालिका बन्ने जनाइएको छ ।

महिला पाँच जना निर्वाचित वडा सदस्यबाट उम्मेदवारी दिन पाइन्छ । दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने कार्यपालिका सदस्यका लागि भने नगरवासीले पनि उम्मेदवारी दिन पाउने जनाइएको छ ।