गण्डकी प्रदेश

प्रेस युनियनको अक्षयकोषमा रु साढे दुई लाख सङ्कलन

९ जेठ, बेनी । नेपाल प्रेस युनियन म्याग्दीले स्थापना गरेको पत्रकार पुरस्कार अक्षयकोषमा रु दुई लाख ५० हजार सहयोग जुटेको छ । जिल्लामा रहेका क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा उक्त रकम सङ्कलन भएको हो । युनियनको अक्षयकोषमा बेनी निवासी होटल व्यवसायी विमला गौचनले रु एक लाख सहयोग गरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा महिला सङ्घका जिल्ला अध्यक्षसमेत रहेकी गौचनले उक्त अक्षयकोषका लागि सोमबार उक्त रकम प्रदान गरेका हुन् । एक कार्यक्रमका बीच नेत्री गौचनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, केन्द्रीय पार्षद सदस्य हरिकृष्ण गौतम र युनियन म्याग्दीका उपाध्यक्ष धनीलाल गर्बुजालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए  । 

जिल्लामा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने उक्त अक्षयकोषमा आफ्ना दिवङ्गत श्रीमान् राम गौचनको सम्झनामा सहयोग गरेको सहयोगदाता गौचनले बताए । युनियनले रु पाँच लाख राशिको अक्षयकोष स्थापनाका लागि अभियान सञ्चालन गरेको छ । हरेक वर्ष जिल्लामा क्रियाशील पत्रकारहरुमध्ये उत्कृष्ट पत्रकारलाई अक्षयकोषको ब्याज रकमबाट पुरस्कृत गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको युनियनका सभापति शर्माले जानकारी दिए ।