गण्डकी प्रदेश

आन्तरिक आयको स्रोत खोज्दै बेनीका जनप्रतिनिधि

११ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आन्तरिक आम्दानी वृद्धिका लागि स्रोतको पहिचानमा जुटेका छन् । नगरपालिकाको विकास गतिविधि, कार्यक्रम सञ्चालन र नागरिकको सेवासुविधा वृद्धिका लागि आम्दानीको स्रोत पहिचान र परिचालनमा अध्ययन थालिएको नगरप्रमुख सुरत केसीले नेपाल पत्रकार महासङ्घ म्याग्दीले बुधबार आयोजना गरेको कार्यक्रममा जानकारी दिए ।

“वार्षिक रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी हुनुपर्ने रहेछ”, उनले भने, “नदीजन्य वस्तुको उत्खनन र निकासीको ठेक्का नहुनु, व्यवसाय र घरबहाल कर उठाउन नसक्नु आदिका कारणले करिब रु तीन करोड पचास लाखको लक्ष्य भेटाउन पनि चुनौती देखिएको छ ।” 

आन्तरिक आम्दानीको लक्ष्य पूरा गर्न बक्यौता रकम उठाउन कदम चालिने नगरप्रमुख केसीले बताए । नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा कार्यान्वयन गर्न आर्थिक वर्षको पहिलो चौमासिकमै ठेक्का लागेको केही आयोजना अहिलेसम्म सुरु नहुँदा आगामी आर्थिक वर्षका लागि नगरपालिकामा दायित्व सिर्जना हुने देखिएको बताए । 

“ठेक्का लागेर काम नभएका योजनाको स्थलगत अनुगमन र निर्माण व्यवसायीलाई तोकिएको परिणामको काम गर्न ताकेता गरेका छौँ”, उनले भने, “योजना र बजेट कार्यान्वयन आर्थिक वर्षको पहिलो चौमासिकदेखि नै थालेर आएको बजेटसमेत परिचालन नहुने, योजना अधुरा बन्ने समस्या हटाउँछौँ ।” 

नगरप्रमुख केसीले हरेक महिनाको १५ गते नगरपालिकाको सबै स्वास्थ्य संस्थामा नसर्ने रोगका बिरामी पहिचान गर्न शिविर सञ्चालन गर्न लागिएको बताए । चिनीरोग, रक्तचाप र युरिक एसिडको परीक्षण गरिने शिविर सञ्चालनका लागि बेनी अस्पतालसँग समन्वय गर्ने उनले बताए । “दैनिक ज्यालादारी गर्ने समुदायमा दिनमा कमाउने र बिहान बेलुकी खाएर सक्ने समस्याले आर्थिक, सामाजिक अवस्थामा परिवर्तन आउन सकेको छैन,” उनले भने “मजदुर सम्बद्ध सङ्गठन र रोजगारदातासँग समन्वय गरेर श्रमकार्ड र मासिक ज्यालाको व्यवस्थापन गर्ने योजना बनाएका छौ ।”

ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण सेवा दिने कार्यक्रम ल्याउने नगरप्रमुख केसीले बताए । नगरप्रसखु केसी र उपप्रमुख पौडेलले नगरको समस्या पहिचान र समाधानमा पत्रकारिता क्षेत्रबाट खबरदारीसँगै रचनात्मक सहयोगको अपेक्षा गरे । 

उपप्रमुख पौडेलले महिला, किशोरी, युवाको सशक्तिकरणसँगै उनीहरुलाई आयआर्जन र उत्पादनमा जोड्ने कार्यक्रम ल्याउने बताए । सामुदायिक विद्यालयमा बालमैत्री शिक्षण विधि, बालविकास केन्द्र थप गर्ने र पूर्वाधारका योजनाहरुलाई गुणस्तरीय तथा दिगो बनाउन नगरप्रमुख केसी र उपप्रमुख पौडेलले प्रतिबद्धता जनाए ।