समाचार

एक हजार २२२ एम्पुल लागूऔषधसहित चार पक्राउ

११ जेठ, काठमाण्डौ । नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बालकुमार दास रहेका छन् । पक्राउ परेका चारैजनालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागु औषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।