१२ जेठ, बलेवा । चालु आर्थिक वर्षमा जैमिनी नगरपालिका–८ ढुसमा सडक बनाउन विनियोजन भएको बजेट कार्यान्वयनका लागि सम्झौता गर्न उपभोक्ता समितिका अध्यक्षलाई तीन दिन समय लाग्यो । कच्ची सडकमा हरेक दिन आउँदा–जाँदा झण्डै रु एक हजार खर्चेर उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर शेरभुजाले तीन दिनसम्म पालिका मुकाम कुश्मीशेरा धाए ।
सम्झौताका लागि आवश्यक प्रक्रिया र कागजातको विषयमा जानकारी नहुँदा शेरभुजाले व्यक्तिगत खर्चमा लामो समय लगाएर सडक निर्माणको योजनाको सम्झौता गर्नुप¥यो । पटक–पटक पालिका पुगेका उनले कहिले के कागज नपुगेको भनेर फर्किनुप¥यो त कहिले प्रक्रियाका विषयमा प्रश्नहरू आए । यसअघि उनलाई कसैले पनि योजना सम्झौता गर्दा आवश्यक प्रक्रिया र कागजातको विषयमा जानकारी गराएका थिएनन् । उनले झण्डै चार दिन खर्चेर योजना सम्झौता र पहिलो किस्ताको रकम बुझेको दुई महिनामात्रै भएको छ ।
जैमिनी नगरले विनियोजन गरेका योजनामा झन्झट व्यहोर्ने पुरण एक्ला व्यक्ति होइनन । योजना सम्झौता र फरफारकका विषयमा आधारभूत ज्ञानसमेत नभएका यहाँका उपभोक्ताले कयौँपटक समस्या भोग्दै आएका छन् । हरेक वर्ष सञ्चालन हुने योजनामा प्रायः पुरानै उपभोक्ता समितिका पदाधिकारी दोहोरिने भएकाले समस्या नभए पनि नयाँ उपभोक्ता समितिले यस्तो समस्या भोग्दै आएका थिए ।
शेरभुजाजस्तै उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीको समस्या अब जैमिनीमा दोहोरिने छैन । यस्तै गुनासाको चाङ लागेपछि जैमिनीले सहायताकक्ष स्थापना गरेको छ । नवनिर्वाचित नगरप्रमुखले पदभार ग्रहण गर्दाका दिन पहिलो निर्णय गरेको नागरिक सहायताकक्ष स्थापना कार्यान्वयनमा आइसकेको छ । यो सहायता केन्द्रले अब आम उपभोक्तालाई सहयोग गर्ने छ ।
पालिकामा आउने सेवाग्राहीलाई सहज बनाउनका लागि नागरिक सहायताकक्ष स्थापना गरिएको जैमिनीका नगरप्रमुख नरबहादुर पुनले जानकारी दिए । कुनै पनि सरकारी कार्यालयमा छिटोछरितो रूपमा सेवा पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न सहायताकक्षको स्थापना गरिएको उनको भनाइ छ । उनले नागरिकको गुनासो सुनेकै आधारमा पहिलो प्राथमिकतामा नागरिक सहायताकक्ष परेको बताए ।
नागरिक सहायताकक्षबाट सेवाग्राहीले निवेदनका ढाँचा, आवश्यक कागजातलगायत विषयमा जानकारी लिन सक्नेछन् भने आवश्यक सहयोग पाउनेछन् । नगरपालिकाको कुनै पनि काम गर्न आउने सेवाग्राही त्यसै फर्किन नपरोस् भन्ने तरिकाबाट नागरिक सहायताकक्षलाई व्यवस्थित गर्दै लैजाने जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले बताए। सेवा लिन आउँदा सेवाग्राहीले सहायताकक्षमा पुगेर आवश्यक सहयोग लिन र कागजातको नमूना प्राप्त गर्न सक्ने उनको भनाइ छ ।