समाचार

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

१४ जेठ, मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नंको यात्रुवाहक माइक्रोबस र प्रदेश३–०१–०२३च ०५३५ नंको कारमाथि करिब साढे ५ बजेतिर पहिरो खसेको हो ।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार माइक्रोका चालक नवलपुर कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतोको हातमा सामान्य चोट लागेको हो । मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ ।

अहिले साँझ ६ः३० बजेबाट एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । दुईतर्फी सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।