बाग्मती

संविधानको मर्म र भावनालाई आत्मसात् गरी समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व : प्रदेश प्रमुख शर्मा


१५ जेठ, वाग्मती । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्म र भावनालाई आत्मसात् गरी समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताएका छन् । आज १५औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीयता धर्म निरपेक्षता, समानुपातिक एवं समावेशीतासहितको समृद्ध राष्ट्र निर्माण गर्नु सबैको दायित्व भएको बताए ।

शुभकामना सन्देशमा प्रमुख शर्माले गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात अमर सहिदप्रति श्रद्धासुमन अपर्ण गर्दै बेपत्ता, घाइते तथा अपाङ्गता भएका योद्दामा उच्च सम्मानसमेत प्रकट गरे ।

सन्देशमा उनले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि गणतन्त्र स्थापनाले जीवनका आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माणमा मार्ग प्रशस्त गर्न सकोस् भन्ने कामना पनि गरे ।