बाग्मती

‘गणतन्त्रको संरक्षणमा चुक्न नहुने’


१५ जेठ, मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा १५औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख शर्मा, मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र सभामुख सानुकुमार श्रेष्ठले संयुक्त रुपमा गणतन्त्र दिवस लेखिएको ब्यानरसहितको बेलुन आकाशमा उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले ज्ञातअज्ञात शहीदको बलिदानी र नेपाली जनताको त्याग तथा तपस्याबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिए । उनले मुलुकमा गणतन्त्र स्थापनाका लागि भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरे ।

“विसं २०४६ को आन्दोलनबाट निरङ्कुश शासनलाई संविधानको डोरीले बाध्यौँ, २०६१ मा फेरि विभिन्न राजनीतिक दल सडकमा उत्रिएर हजारौँ साथीले ज्यान गुमाएपछि हामीले २०४६ मा प्राप्त गरेका उपलब्धिलाई अझै संस्थागत गर्दै गणतन्त्रको बाटोमा लम्कियौँ, निकै दुःख गरेर प्राप्त भएको यो व्यवस्थालाई संरक्षण गर्ने सन्दर्भमा हामी चुक्नु हुँदैन”, उनले भने ।

उनले नेपालमा विभिन्न समयमा व्यवस्था परिवर्तन हुँदै आएको स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आम जनताको अवस्था परिवर्तन हुनेगरी कार्य हुनुपर्ने बताए । उनले त्यसका लागि तीनै तहको सरकारले सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशलाई समृद्ध प्रदेशका रुपमा स्थापित गर्ने सन्दर्भमा सरकार लागि परेको र त्यसमा सबैले सहयोग प¥याउनु आवश्यक भएको उल्लेख गर्दै प्रदेशको विकासका लागि विभिन्न योजना तर्जूमा गरी तीव्रताका साथ काम भइरहेको समेत उल्लेख गरे ।

कार्यक्रममा निजामती क्षेत्रमा उत्कृष्ठ काम गर्ने कर्मचारी, पत्रकार, खेलकर्मी, सामाजिक अभियानकर्मीलगायतलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिने भन्दै पुरस्कृत हुने व्यक्तिको नाम सार्वजनिक गरिएको थियो । सार्वजनिक महत्वको कुनै कार्यक्रमको अवसर पारी सो पुरस्कार वितरण गरिने जनाइएको छ ।