लुम्बिनी

सुत्केरीलाई यातायात खर्च

१९ जेठ, रामपुर । रामपुर नगरपालिका–७ बत्तरकोतकी अर्चना गौतमले सुत्केरी यातायात खर्चबापत रु तीन हजार ३७५ रकम बुझे । उनलाई नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखामार्फत सो रकम प्राप्त भएको छ ।

रामपुरदेखि जिल्ला सदरमुकाम तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाससम्मको यातायात खर्च रेडक्रस मार्फत पाउँदा उनी खुसी छन । उनले भने, “अस्पतालमा सुत्केरी हुन जाँदा लागेको एकतर्फी एम्बुलेन्स यातायातखर्च पाउँदा धेरै सहयोग मिलेको छ, यस्ता कार्यक्रमले अस्पतालसम्म सुत्केरी हुन यातायातखर्च अभावमा पुग्न नसक्ने परिवारलाई ठूलो राहत मिल्नेछ” ।

रामपुर ७ की टीकादेवी भट्टराईले पनि लुम्बिनी मेडिकल कलेजमा सुत्केरी हुन गएबापत रु तीन हजार ३७५ रकम बुझेका छन । एकतर्फी भए पनि यातायात खर्चले आर्थिक अवस्था नाजुक भएका परिवारमा सघाउ पुग्ने जनाउँदै उनले अस्पतालसम्म पुग्ने खर्च कसरी जुटाउने भन्ने पिरलो हटेको प्रतिक्रिया दिए ।

रामपुर नगरभित्रका २२ महिलालाई सुत्केरी सहयोग रकम वितरण गरेको रेडक्रस उपशाखा सभापति मनोरथ भट्टराईले जानकारी दिए । उनका अनुसार रामपुरदेखि तानसेनसम्म सुत्केरी हुन पुगेका १९ लाई प्रतिव्यक्ति रु तीन हजार ३७५, रामपुरदेखि बुटवलसम्म तीन जनालाई प्रतिव्यक्ति रु चार हजार ८७५ रकम हस्तान्तरण गरिएको छ ।

“रेडक्रसको स्वर्ण महोत्सवको उपलक्ष्यमा सन् २०२१ जनवरीदेखि डिसेम्बर १५ सम्म सुत्केरी भएका महिलालाई एकतर्फी यातायातखर्च उपलब्ध गराइएको छ, यस कार्यक्रममा संस्थाले तोकेको समयमा प्रक्रिया पूरा गरेर आउने जोकोही पनि सहभागी हुन सक्नुहुनेछ, विशेषगरी गरिब आर्थिक अवस्था कम भएका परिवारमा ठूलो सघाउ पुगेको छ” उनले भने ।

सो कार्यक्रममा सहभागी हुन अस्पतालमा नवजात शिशु जन्मिएको प्रमाणपत्र, अस्पतालको ‘डिस्चाजर्’ प्रमाण पत्र, एम्बुलेन्सले भाडा बुझेको रसिद, सम्बन्धित वडाको सिफारिससहित शाखामा पेश गर्नेलाई मात्र यातायातखर्च शाखाले वितरण गर्ने गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सुत्केरीलाई लक्षित गर्दै संस्थाले गरेको यस कार्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने जनाउनुहुदै रामपुरमा शाखाको भवन नभएको हुँदा भवन निर्माणमा नगर सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिए । गतवर्ष पनि शाखाले १९ जनालाई सुत्केरी यातायात खर्च रकम प्रदान गरेको थियो ।