सुदूरपश्चिम

जिसस कैलालीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी


३० जेठ, सुदूरपश्चिम । कैलाली जिल्लाको जिल्ला समन्वय समिति गठनका लागि आज भएको निर्वाचनमा सत्ता साझेदार दलका प्रत्यासी विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा सत्तासाझेदार दल नेपाली कांग्रेसका पदमबहादुर कलेल १३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत पाए ।

 समितिको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का खगराज भुसालले १३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का राजेन्द्र खनालले १२ मत पाए । जिल्लामा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले जिल्ला समन्वय समितिमा तालमेल गरेका थिए । नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेबीच तालमेल भएको थियो । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा विजयी नेकपा (माओवादी केन्द्र) का देवीदत्त उपाध्याय भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेका कारण उनले चुनावी प्रक्रियामा भाग लिन नपाएको जनाइएको छ । 

 स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिका प्रमुखमा विजयी गोपाल हमालले सत्ता साझेदार दलका उम्मेदवारलाई सघाएको जनाइएको छ । जिल्ला समन्वय समितिको गठनमा पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदाता रहने कानूनी व्यवस्था छ । कैलाली जिल्लामा १३ पालिका रहेका छन् ।