बाग्मती

तेल र मसलाबिनाको अचार

३१ जेठ, चितवन । भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेका छन । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेका हुन । रोजगारीको सिलसिलामा इजरायल पुगेकी चापागाईँ जहाँ काम गर्थे त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकाएका हुन ।

सन् २००६ मा रोजगारीका लागि गएकी चापागाईँ सन् २०१६ मा नेपाल फर्किए । त्यसपछि पुस्तक व्यवसाय गरेकी उनी दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा परे । दुर्घटनामा परी गम्भीर घाइते बनेकी चापागार्इ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थालेका हुुन।

चापागाईँ अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइरहेका छन । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उनले बताए। उठेर खासै हिँडडुल गर्न नसक्ने उनी आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिएका छन । कृषि विषय अध्ययन गर्दै आएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहेका छन ।

व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उनको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको उनले बताए । पूर्णकलाले भने, “स्वास्थ्यवद्र्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।” परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उनको छ ।

खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उनले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताए । यही वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थालेका हुन । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ । उनले भने, “सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छौ ।” एकपटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उनको भनाइ छ । अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको उनले जानकारी दिए ।