३१ जेठ, गलकोट । गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश युवा नीति निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । मन्त्रालयले युवा नीतिका लागि तयार पारेको मस्यौदाउपर अन्तरक्र्रिया, राय तथा सुझाव सङ्कलनको कामलाई तीव्रता दिएको छ ।
युवालाई स्वदेशमै रोजगारी दिने, खेलकुद क्षेत्रमा लागेका युवालाई प्रोत्साहन गर्ने, सीप सिकाएरमात्रै स्वरोजगार बनाउनेलगायतका विषय समावेश गरेर प्रदेशस्तरीय युवा नीति बनाउनका लागि मस्यौदाउपर छलफल गरिरहेको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए। उनले अहिले ११ जिल्लाका युवाबाट सुझाव सङ्कलन गरिरहेको बताउँदै युवाको सुझाव तथा सल्लाहबाट मात्रै युवा नीति ल्याउने योजनाका साथ प्रदेशका ११ जिल्लामै युवा भेला गरेर सुझाव सङ्कलन गरिरहेको बताए ।
“युवालक्षित कार्यक्रम अब नीतिअनुसार आउनेछन्, जसका लागि युवा नीतिको खाँचो परेको थियो, मस्यौदा तयार भइसकेर राय तथा सुझाव सङ्कलन भइरहेको छ”, अधिकारीले भने, “युवा नीतिलाई प्रभावकारी बनाउनका लागि प्रत्यक्ष युवाको रायका लागि सुझाव आवश्यक हुन्छ, त्यसैले जिल्ला–जिल्लामा मन्त्रालयको टोली पुगेर युवा भेला गर्दै सुझाव सङ्कलन गर्दै हिँडेका छौँ, केही महत्वपूर्ण सुझाव आएका छन्, हामी सुझावअनुसार नीति बनाएर कार्यान्वयनमा जान्छौँ ।”
उनले सोमबार बागलुङमा युवा भेला गरेर मस्यौदाउपर सुझाव सङ्कलन गरिएको र ११ जिल्लाबाट सङ्कलन भएको सुझावका आधारमा नीति ल्याउने उनको भनाइ छ । सुझाव सङ्कलन भेलामा प्रस्तुत गरिएको नीतिउपर बागलुङका युवाहरूले भाषा तथा संस्कृति संरक्षणमा युवालाई अग्रसरता दिने, अपाङ्गमैत्री खेलकुद संरचना तयार पार्ने, खेलाडीलाई प्रोत्साहन गर्ने, युवा स्वरोजगारका लागि रचनात्मक कार्यक्रम ल्याउने नीति बनाउन सुझाव दिएका थिए । मन्त्रालयले युवा नीतिमार्फत युवा तथा खेलाडी लक्षित कार्यक्रम ल्याउने गरी प्रदेश युवा नीति बनाउन थालेको हो ।