३१ जेठ, गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेशमा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।
बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्माले विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस भन्दै गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।
यसअघि विधेयकमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले पर्यटन क्षेत्रका सम्बद्ध सबैसँग छलफल गरी विधेयक ल्याइएको बताए । सभामा सामान्य छलफलका क्रममा प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने उनले बताए ।
छलफलमा प्रदेशसभा सदस्य विकास लम्सालले गण्डकी प्रदेश पर्यटनका धेरै सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै यसको विकासले समृद्धि र विकासका ढोका खुल्ने बताए। प्रकृति र संस्कृति यहाँको पर्यटनको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै उनले यसलाई आयआर्जनसँग जोड्न सकिने धारणा राखे ।
प्रदेशसभा सदस्य ललितकला गुरुङले गण्डकी प्रदेश पर्यटनका लागि सम्भावनाको क्षेत्र भएकाले यसलाई व्यवस्थित बनाउनका लागि विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरिन्। पर्यटकीय सम्भावनाको प्रदेशमा विधेयक आउन भने ढिलो भएको उनको भनाइ थियो ।
प्रदेशसभा सदस्य दीपक कोइरालाले सन् १९५० पछि नेपालमा व्यावसायिक पर्यटनको सुरुआत भएकाले पर्यटनलाई आयआर्जनसँग जोड्दै अघि बढ्नुपर्नेमा जोड दिए । पर्यटनलाई व्यावसायिक बनाउन उपलब्ध प्राकृतिक स्रोत साधनको उपयोग गर्दै अघि बढ्नुपर्ने उनले बताए।
प्रदेशसभा सदस्य पियारी थापाले पर्यटनबाट समृद्धि हासिल गर्नका लागि हाम्रा सम्पदाको संरक्षण र उपयोग हुन नसकेको धारणा राखे। गण्डकीमा पर्यटनले प्राथमिकता पाउँदा पाउँदै पनि त्यसका लागि लगानी तथा कानुन निर्माणको विषय प्राथमिकतामा नपरेको उनको भनाइ थियो । प्रचारप्रसारसँगै लगानीको वातावरण तयार गर्नुपर्ने उनले बताए ।