बाग्मती

गोकर्णेश्वरमा जनप्रतिनिधिका लागि योग प्रशिक्षण

४ असार, काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकाले जनप्रतिनिधिका लागि योग प्रशिक्षण आयोजना गरेको छ । आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नगरपालिकाले जनप्रतिनिधिका लागि आज जोरपाटीस्थित भैरव स्मृति प्रतिष्ठानमा योग प्रशिक्षण आयोजना गरेको हो । कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख दीपक रिसालले नगरपालिकका नौवटै वडामा योग भवन निर्माण गर्ने प्रतिबद्धता जनाए ।

सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल, वाचनालय, पुस्तकालयसहितको एकीकृत नमूना योग भवन बनाउने योजना उनले अघि सारे । नगरपालिकाको कूल भू–भागमध्ये ६३ प्रतिशत भूगोल ओगटेको वडा नं १ को पर्यटकीयस्थल सुन्दरीजल क्षेत्रलाई ध्यान एवं योग पर्यटनका रूपमा विकास गरिने प्रमुख रिसालले जानकारी दिए ।

कार्यक्रममा योग प्रशिक्षक रामप्रसाद सञ्जेललगायतले नगरपालिकाका १५ भन्दा बढी स्थानमा नियमित योग शिविर सञ्चालन भइरहेको जानकारी गराउँदै नगरपालिकालाई योगमय नगरपालिका बनाउन आवश्यक सहयोगका लागि आग्रह गरेका थिए ।

त्यस अवसरमा पतञ्जली योग समिति नेपालका योग प्रशिक्षक अच्युत अर्यालले अन्तर्राष्ट्रिय योग दिवसका लागि तयार पारिएको योग प्रोटोकलको अभ्यास गराएका थिए । जुन २१ अर्थात् असार ७ गते अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा योगसम्बन्धी साताव्यापीरूपमा विभिन्न संस्थाद्वारा योगका कार्यक्रम आयोजना भइरहेको छ । प्रशिक्षणमा गोकर्णेश्वरका जनप्रतिनिधिका साथै स्थानीयवासीको सहभागिता रहेको छ ।