लुम्बिनी

कपिलवस्तुमा छात्रालाई साइकल वितरण


९ असार, चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ४१५ छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो ।

गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका छवटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव रहेको बताए ।

शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको बताए।  छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान ल्याइएको छ थापाले भने साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउनेसँगै महिलाको शिक्षामा पहुँच वृद्धि हुनेछ ।

छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताए। उनले नियमित विद्यालय आउन छात्राहरूलाई आग्रह गरे । साइकलले दूरीमा रहेका विद्यार्थीलाई विद्यालय आउने सहज हुने गाउँपालिका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले  विश्वास व्यक्त गरे ।  बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रमलाई अघि बढाएर महिला सशक्तीकरणमा पालिकालाई अग्रपङ्क्तिमा राख्ने सोच लिएको बताए कक्षा ८ र १० पढेपछि विद्यालय छोड्ने गरेकाले उनीहरूलाई रोक्न साइकल वितरण गरिएको बताइएको छ । यसअघि पनि २०७७/०७८ मा विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो ।