१५ असार, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फछ्र्यौटलाई सरकारले प्रयास गरिरहेको उल्लेख गर्दै वित्तीय व्यवस्था सुधारमा सरकार लागिपरेको बताए । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले रु छ खर्ब ७६ अर्ब बेरुजु फछ्र्यौटमा मन्त्रालय लागेको उनले कार्यक्रममा जानकारी गराए ।
“आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा बेरुजु फछ्र्यौटलाई प्राथमिकता दिइएको छ, महालेखा परीक्षकको कार्यालयलाई आवश्यक भौतिक तथा वित्तीय सहयोग गरिन्छ”, मन्त्री शर्माले भने । प्रतिनिधिसभा, सार्वजनिक लेखासमितिका सभापति भरतकुमार शाहले १५ वर्षअघिको कम्प्युटर, ल्यापटप, मोबाइललाई त्यस बेलाको मूल्यमा परिवर्तन गरेर बेरुजु देखाउने काम न्यायसङ्गत हुन नसक्ने बताए । देश आर्थिक अप्ठ्यारोमै रहेकाले फजुल विदेश भ्रमण र फजुल खर्च नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखापरीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराए। कोरोना महामारीका कारण कार्यालयको वार्षिकोत्सव मनाउन नपाइएको उल्लेख गर्दै उनले यस वर्ष उत्कृष्ट कार्यसम्पादन भएका सात जना कर्मचारीलाई पुरस्कृत गरिएको सुनाए ।
“कोभिडको छुट्टै लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिनेछ, महालेखापरीक्षकको कार्यालयको पनि अन्तर्राष्ट्रिय लेखापरीक्षकले लेखापरीक्षण गर्ने प्रावधान अनुसार थाइल्याण्डको लेखापरीक्षण संस्थाले लेखापरीक्षण गरी राम्रो काम गरेको प्रतिवेदन दिएको छ”, महालेखापरीक्षक शर्माले भने। कार्यालयले यसै वर्षदेखि जोखिममा आधारित लेखापरीक्षण प्रणालीलाई अवलम्बन गरेको छ । यसवर्ष बेरुजु फछ्र्यौटमा उत्साहजजनक काम हुन नसकेको सो अवसरमा जानकारी गराइएको थियो ।
स्थानीय तहमा बढी अनियमितता देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । सुशासन बहालीका लागि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको थियो । उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले लेखापरीक्षणको गुणस्तरीयताबाट नै सुशासन प्रत्याभूति हुने विषयलाई आत्मसात गर्न आग्रह गरे । कार्यालयले छ हजार भन्दा धेरै सार्वजनिक निकायको लेखापरीक्षण गर्ने गरेको छ । विसं २०१६ असार १५ गते स्थापना भएको कार्यालय आजदेखि ६३ वर्ष पूरा गरी ६४ वर्षमा लागेको छ ।





