खेलकुद

महिला गल्फ प्रतियोगिता यसै साता हुने

१६ असार, काठमाण्डौ । रोयल नेपाल गल्फ क्लबको आयोजनामा पहिलो महिला खुला गल्फ प्रतियोगिता यसै साता हुने भएको छ । यही असार १८ गते हुने एकदिने उक्त प्रतियोगिताको खेल एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा हुनेछ ।

उक्त प्रतियोगितामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एवं नेपालको पहिलो नम्बरकी महिला गल्फर प्रतिमा शेर्पाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पोखरा, धरान र काठमाडौँका महिला गल्फर सहभागी हुनेछन् । प्रतियोगितामा सिनियर र जुनियर गरी दुई समूहमा विभाजन गरेर प्रयियोगिता खेलाइनेछ । सिनियर खेलाडीले १८ होल खेल्नेछन् भने जुनियर खेलाडीले नौ होलमा खेल्नेछन् । जुनियरको उमेर समूह भने ८ देखि १६ वर्षसम्मको हुनेछ ।

प्रतियोगिताको सिनियरतर्फका विजेता खेलाडीले ट्रफिसहित स्कुटर पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता नेपालमा महिला गल्फ खेलाडीको उत्पादन र महिलालाई गल्फ क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताको सञ्चार संयोजक सरिताश्री ज्ञवालीले जानकारी दिए।