२१ असार, गलेश्वर । हिमाली जिल्ला म्याग्दीका रणनीतिक महत्वका दुई सडक योजना ठेकेदार कम्पनीको लापरवाही, ढिलासुस्ती र सरोकारवाला निकायको उदासिनताका कारण अलपत्र परेका छन् ।
सडक स्तरोन्नतिको कार्य समयमै सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । सर्वसाधारणले केही दिनअघि हिलाम्ये बनेको सडकमा धान रोपेर विरोधसमेत जनाएका थिए । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) अन्तर्गत बेनी–लाम्पाटा–दरबाङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने योजना र क्षेत्र (क) अन्तर्गत गलेश्वर–पिप्ले–भगवती हुँदै बेगखोला सडक स्तरोन्नति गर्ने योजना अलपत्र परेका हुन् ।
यी दुईवटै सडकको स्तरोन्नति, कालोपत्र र मर्मतका लागि तीन वर्षअघि नै काम थालिएको थियो । तर अहिलेसम्म पनि सडकको अवस्था तीन वर्ष पहिलेको जस्तै भएको सर्वसाधारणको गुनासो छ । गण्डकी प्रदेश सरकारले तीन वर्षअघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना छनोटमा परेका थिए । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा यी योजना अलपत्र परेका हुन् ।
यी दुवै सडक भौतिक पूर्वाधार कार्यालय म्याग्दीमार्फत कार्यान्वयन गरिएका सडक योजना हुन् । सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी काम छाडेर सम्पर्कविहीन भएका छन् । पूर्वाधार विकास कार्यालयले पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन् ।
वि.सं २०७६ मा भौतिक पूर्वाधार कार्यालयले गलेश्वरबाट बेगखोलाको सडक निर्माण गर्न एपेक्स–खड्का कृष्ण जेभीसँग ७.८ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न रु १८ करोड ४१ लाख १० हजारमा ठेक्का सम्झौता गरेको थियो । वि.सं २०७८ जेठ २४ गते सकिएको ठेक्काको म्याद कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण सरकारको नीतिअनुसार २०७९ असार मसान्तसम्म म्याद थपिएको थियो ।
योजनामा अहिलेसम्म ६९ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । सडक स्तरोन्नति गरी वेस र सबवेस राखेर कालोपत्रका लागि तयारी गरिए पनि पछिल्लो समय निर्माण व्यवसायीले काम नगरेका कारण सडक निर्माण ढिलासुस्ती भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । निर्माण व्यवसायीलाई कार्यस्थलमा फर्किएर सडक निर्माण सुरु गर्न पटक–पटक निर्देशन दिए पनि अटेरी गरेको उनले बताए ।
यस्तै जिल्लाको पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण सडक बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–१ लाम्पाटाबाट दरबाङसम्म ६.८ किलोमिटर सडकखण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न कार्यालयले बिरुवा–क्याराभान जेभीसँग २०७६ जेठ २७ गते ठेक्का सम्झौता गरेको थियो । रु २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरिएको योजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो ।
निमित्त प्रमुख अधिकारीले फोन र पत्रमार्फत निर्माण व्यवसायीलाई ताकेता गरिए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको बताए। “निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ”, उनले भने, “मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।” वि.सं २०७८ चैतमा अन्तिमपटक थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागि समेत व्यवसायीले प्रक्रिया अघि नबढाएको उनले बताए। यो सडकमा हालसम्म करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको मङ्गला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताए ।