२२ असार, देउखुरी । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा बिस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडी भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।
बिरामीले प्रतिष्ठानमा बिस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाककान घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने गरेको बताइएको छ ।
प्रतिष्ठानमा बिस्तारित सेवा (इएचएस) सुरु हुने भएको छ । बिस्तारित सेवा प्राप्त गर्ने बिरामीलाई लाइनमा लाग्नु नपर्ने र आफूले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामी थप लाभान्वित हुने प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिए ।
उनले बिस्तारित सेवा प्रभावकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीले द्रुतगतिमा पाउने बताए । बिस्तारित सेवा हरेक दिन दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि बिरामीले सेवा पाउनेछन् । अस्पतालमा आउने बिरामीले जनरलबाहेकको समयमा आफूले इछ्याएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले ‘इएचएस’ सेवा सुरु हुन लागेको उपकुलपति डा लामिछानेले जानकारी दिए ।
यसैगरी प्रतिष्ठानले पोषण पुनःस्थापना गृहबाट ४२ जना कुपोषित बिरामीलाई उपचार सेवा दिएको जनाइएको छ । विसं २०७० मा रु ६० लाखको लागतमा दुईतले भवन बनाएर पाँच वर्ष आफैँले चलाएर २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात् सञ्चालनमा ल्याउने प्रयास गरिए पनि २०७८ पुस १ गतेदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो । पोषण पुनःस्थापना गृहबाट साविक राप्तीका दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको जानकारी गराइएको छ ।
पोषण अधिकृत सर्जु बरालले हाल छ शय्याबाट सेवा प्रदान गर्दै आएको जानकारी गराउँदै हालसम्म ४२ जना भर्ना भएकामा ३६ घर फर्किएका र छ जना उपचाररत रहँदा एक जनालाई भने रिफर गरिएको जानकारी दिए ।
उनका अनुसार, २०७८ को पुसमा एक, माघमा एक, फागुनमा सात, चैतमा आठ, वैशाखमा १०, जेठमा आठ र असारको १४ गतेसम्म सात जना गरी ४२ जना भर्ना भएकामा उपचारपछि ३६ जना डिस्चार्ज भएको जानकारी दिरे ।
उपचारका लागि आउने बिरामीलाई पोषण सुरक्षासहित आहार, औषधि, उपचार निःशुल्क, जाँच परीक्षण, चिकित्सकको निर्देशनअनुसार औषधि पनि हुने गरेको बताइएको छ ।
उपचारका लागि सबैभन्दा सल्यानबाट कुपोषित बिरामी आउने गरेको जानकारीसमेत गराइएको छ । उपकुलपति डा विकास लामिछानेले केन्द्रको मात्रै बजेटले उपचार सेवा सम्भव नहुने भन्दै सकेसम्म कुपोषण हुनै नदिने गरी समुदायस्तरमा सचेतना बढाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए ।
समुदायमा रहने नागरिकको स्वास्थ्यका लागि वडास्तरबाटै पहल हुनुपर्ने भए पनि अहिले पनि स्थानीय सरकार पूर्वाधार निर्माणमात्रै केन्द्रित हुँदा मानवीय विकास पछि पर्दै गएको उनले भने, “मानव विकास सूचकाङ्क सुधार गर्न उनीहरुको आधारभूत तहको सेवा र सुविधामा ध्यान दिनुपर्छ, जसका लागि समुदायस्तरमा सचेतना पु¥याउनुपर्छ ।” उनले अहिलेको भौतिक विकासले मानिसलाई धेरै कुरामा प्रभाव पार्दै लगेको हुँदा सचेत नागरिक, सेवा प्रवाहमा खटिने निकायले सही सूचना र सन्देश दिँदै मानवीय जोखिमबाट बचाउनुपर्ने बताए।
‘अण्डा बेचेर चाउचाउ खान्छौँ, दूध बेचेर रक्सि खान्छौँ’ अनि कसरी मानिस स्वस्थ हुन्छ रु समुदायस्तरमा सुआहारा जस्ता कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिष्ठान अस्पताल निर्देशक डा प्रज्ञा बस्नेतले हालको सेवा सुविधा बढाउन पूर्वाधार विकासमा ध्यान दिने जानकारी दिए । सेवाको पहुँचसँगै आम नागरिकमा पोषण सुरक्षाका बारेमा सही जानकारी दिनेगरी प्रतिष्ठानले निरन्तर कार्यक्रम गर्दै जाने उनको भनाइ थियो । सुआहाराका कार्यक्रम अधिकृत रोशन पौडेलले दाङमा एक हजार २०० बढी कुपोषित बिरामी रहेको जानकारी गराउँदै समुदायस्तरमा पुगेर उनीहरुको उपचार गर्न चुनौतीपूर्ण बन्दै गएको बताए।
उनले जानेका व्यक्तिले लापरवाही गर्ने तथा दूरदराजका नागरिकले नजानेरै कुपोषणको सिकार हुनेक्रम रहेको बताए। “कतिपय अत्यन्तै विपन्न भएकै कारण बालबालिका कुपोषणको सिकार भएका छने् भने कतिपय पोषण स्वास्थ्यका बारेमा जानकारी नपाएर प्रभावित भएका छन् यसमा सबै पक्षको सहयोग चाहिन्छ”, उनले भने, “वडाले यस्ता कुरामा पहल गर्नु जरुरी छ, त्यसका लागि लक्षित बिरामीको उपचारमा वडाले पहुँच बढाउनुपर्छ ।”
जिल्लामा अहिले कडा खालको कुपोषित बिरामी करिब ४०० बढी रहेको पनि कार्यक्रम अधिकृत पौडेलले जानकारी गराए । कुपोषण दर घटाउन र स्वस्थ नागरिक बनाउन समुदायस्तरबाटै स्वास्थ्य सचेतना बढाउनुपर्ने हुँदा स्थानीय सरकारसँगको सहकार्यमा अब बृहत्रुपमा कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।