अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा डुङ्गामा आगलागी हुँदा ३ घाइते, २ बेपत्ता

२३ असार, सियोल । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा माछा मार्ने तीनवटा डुङ्गामा आगलागी हुँदा तीन जना घाइते हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् ।
स्थानीय समय अनुसार बिहान १०:१७ बजे जेजुको हलिम बन्दरगाहमा माछा मार्ने डुङ्गाबाट आगलागी भएको र सँगै छेउमा रहेका अन्य दुईवटा डुङ्गामा फैलिएको योनहापले अग्नि नियन्त्रक अधिकारी र तटरक्षकलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
गम्भीररूपमा जलेको अवस्थामा रहेका तीन जनालाई अस्पताल पठाइएको छ ।
त्यसैगरी कम्तीमा अन्य दुई जना अझै बेपत्ता छन् । आगो निभाउन र बेपत्ता व्यक्तिहरूको खोजी गर्न तटरक्षक उद्धारकर्ता, गस्ती जहाज र एक हेलिकप्टर परिचालन गरिएको जनाइएको छ ।